असार २६, लन्डन । आयोजक इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। विश्वकपअन्तर्गत बिहीबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता अस्ट्रेलियालाई आठ विकेटले पराजित गर्दै इङ्ल्यान्ड उपाधि नजिक पुगेको हो।
यससँगै १२ औं संस्करणको विश्वकप पहिलो पटक नयाँ टोलीले जित्ने पक्का भएको छ। यसअघि नै भारतलाई हराएर फाइनलमा स्थान बनाएको न्युजिल्यान्ड र इङ्ल्यान्डले अहिलेसम्म विश्वकपको उपाधि जित्न सकेका छैनन्।
इङ्ल्यान्ड सन् १९७९, सन् १९८७ र सन् १९९२ मा गरी तीनपटक विश्वकपको फाइनलमा पराजित भएको थियो। त्यसयता भने इङ्ल्यान्ड फाइनलसम्म पनि पुग्न सकेको छैन।
इङ्ल्यान्ड यसअघिको संस्करणमा समूहचरणबाटै बाहिरिएको थियो। यसैगरी हालसम्म विश्वकपको उपाधि चुम्न नसकेको न्युजिल्यान्ड एकपटक सन् २०१५ मा विश्वकपको फाइनलसम्म पुगेको थियो।
त्यतिबेला न्युजिल्यान्डलाई फाइनलमा अस्ट्रेलियाले पराजित गर्दै पाँचौं पटक उपाधि जितेको थियो। अस्ट्रेलिया बाहेक भारत र वेस्ट इन्डिजले दुई÷दुई पटक विश्वकप ट्रफी उचाल्दा पाकिस्तान र श्रीलंकाले एक÷एक पटक उपाधि जितेका छन्। इङ्ल्यान्ड र न्युजिल्यान्डले उपाधिका लागि आइतबार लर्डसमा प्रतिस्पर्धा गर्ने छन्।
अस्ट्रेलियाले दिएको दुई सय २४ रनको मध्यम लक्ष्य पछ्याएको इङ्ल्यान्डले ३२।१ ओभरमा दुई विकेट गुमाएर दुई सय २६ रन बनायो। इङ्ल्यान्डका प्रारम्भिक ब्याट्सम्यान जासन रोयले अर्धशतकीय पाली खेले।
आक्रामक ब्याटिङ गरेका उनले ६५ बलमा पाँच छक्का र नौ चौकाको मद्दतमा ८५ रन बनाए। यसैगरी जोए रुटले अविजित ४९, कप्तान इयोन मोर्गनले ४५ र जोनी बेयरस्टले ३४ रन बनाए। अस्ट्रेलियाका मिचेल स्टार्क र प्याट कुमिन्सले एक÷एक विकेट हात पारे।
यसअघि बर्मिंघमस्थित एजबास्टन रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै दुई सय २३ रनको मध्यम योगफल खडा गरेको थियो। १४ रनमा तीन विकेट गुमाइसकेको अस्ट्रेलियालाई स्टेभन स्मिथले सम्मानजनक योगफलतर्फ डोर्याएका थिए।
घरेलु टोलीका बलरसामु अग्रपंक्तिका ब्याट्सम्यान असफल हुँदा स्मिथ लामो समयसम्म क्रिजमा डटेका थिए। उनले ८५ रनको अर्धशतकीय पालि खेले। संयमपूर्वक क्रिजमा डटेका स्मिथले एक सय १९ बलमा ६ चौका हिर्काए। यसैगरी विकेटकिपर ब्याट्सम्यान एलेक्स केरीले ४६, मिचेल स्टार्कले २९, ग्लेन म्याक्सवेलले २२ र प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरले ९ रन बनाए।
अस्ट्रेलियाका कप्तान एरोन फिन्च शून्य रनमा पेभेलियन फकिँदा पिटर ह्यान्ड्सकम्बले चार, मार्कस स्टोइनिक्सले शून्य, प्याट कुमिन्सले ६, जेसन बेहेरडोफले एक र नाथन लायनले अविजित पाँच रन बनाए। इङ्ल्यान्डका क्रिस वाक्स र अदिल रसिदले तीन÷तीन विकेट लिए। यसैगरी जोफरा आर्चरले दुई तथा मार्क उडले एक विकेट हात पारे।