काठमाडौं । आगामी २४ घण्टाको मौसम विवरण सार्वजनिक गर्दै मौसम पूर्वानुमान महाशाखाले देशका मध्य र पश्चिमका धेरै तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
साथै देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाको पूर्वानुमान छ । पहिरो जान सक्ने तथा नदिहरुमा पानीको वहाब बढ्न सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ । हाल देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा मेग गर्जनसहित हल्कादेखि मध्य वर्षा भइरहको महाशाखाजे जनाएको छ ।
मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको र पूर्वी तथा मध्य भाग औसत स्थानभन्दा थोरै उत्तरतर्फ रहेको महाशाखाको भनाइ छ । साथै, भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित छ । बंगालको खाडीबाट अएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिविधि बढिरहेको महाशाखाको प्रष्टोक्ति छ ।
आगामी तीन दिनको मौसम विवरण सार्वजनिक गर्दै महाशाखाले बुधबार दिउँसो देशभर बदली रही पश्चिम तथा मध्य भू–भागका धेरै तथा बाँकी भू–भागहका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ । त्यस्तै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेको छ ।
बुधबार राति पश्चिमी तथा मध्य तथा पूर्वी भागमा बदली भई मध्य र पश्चिमका धेरै तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ । यस्तै पश्चिमका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
बिहीबार दिउँसो देशभर बदली भई मध्य, पश्चिम र पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने तथा राति देशभर बदली रही मध्य, पश्चिम र पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै शुक्रबार दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने तथा राति आंशिकदेखि सामान्य बदली रही मध्य, पश्चिम र पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।