सुर्खेत, घटना १ः
गत कात्र्तिक २ गते शनिबार संघीय सरकारका वन तथा वातावरण मन्त्री शक्ति बस्नेत बुद्व एयरमार्फत् सुर्खेत आए । गृह जिल्ला जाजरकोट जाने क्रममा सुर्खेत आइपुगेका मन्त्री बस्नेतलाई स्वागत गर्न भिआईपी कक्षदेखि रनवेसम्म कार्यकर्ताले भरिएको थियो । कार्यकर्ताहरु रनवे छेउसम्मै हातमा फूलमाला लिएरै लाइनबद्ध थिए । त्यति मात्र होइन भीआईपीले मात्र प्रयोग गर्ने विश्राम कक्षमा कार्यकर्ताहरुले भरिएपछि भींड पन्छाउन प्रहरीलाई हम्मे थियो ।
घटना २ः
गत कात्र्तिक ७ गते बिहीबार उपराष्ट्रपति नन्दबहादुर पुन सुर्खेत विमानस्थलमा अवतरण भए । उपराष्ट्रपति पुन सिङ्जा साँस्कृतिक महोत्सवको कार्यक्रममा सहभागी हुन सुर्खेत विमानस्थलमा अवतरण भएका थिए । वन तथा वातावरण मन्त्री शक्ति बस्नेतलाई झंै उपराष्ट्रपति पुनलाई स्वागत गर्न कार्यकर्तालगायतको समूह विमानस्थलको रनवेसम्म लर्को लाग्यो ।
माथि उल्लेखित प्रतिनिधिमुलक घटना मात्र हुन् । अति संवेदनशील मानिने विमानस्थलको निषेधित क्षेत्रमा अनाधिकृत व्यक्तिको सहजै पहुँचले सुरक्षा चुनौती बढाएको छ । सर्वसाधारणले विमानस्थलको निश्चित क्षेत्रमा बाहेक अन्यत्र जान पाउँदैनन् । तर प्रधानमन्त्रीदेखि मन्त्रीसम्म र राजनीतिकदलका नेताहरु आउदा विमानस्थलको संवदेशीलता ख्यालै नगरी अनाधिकृत व्यक्ति निषेधित क्षेत्रमा प्रवेश गरेको पाइएको छ । विमानस्थलको संवेदनशीलतालाई ख्याल गरेर त्यहाँ रहेका विभिन्न क्षेत्रहरुको वर्गीकरण गरिएको हुन्छ । वर्गीकरण गरिएका क्षेत्रमा सम्बन्धित व्यक्तिलाई मात्र पहुँच हुने गरी विमानस्थल कार्यालयले अनुमतिपत्र प्रदान गर्ने गरे पनि स्वागतको नाममा अनाधिकृत व्यक्तिहरु सजिलै निषेधित क्षेत्रसम्म पुग्ने गरेका छन् । गैर सैनिक हवाई उडान (सिभिल एभिएसन ऐन २०१५) बमोजिम विमानस्थलभित्र संवेदनशील क्षेत्रमा अनाधिकृत प्रवेशलाई रोक लगाइएको छ । ऐन बमोजिम विमानस्थलको सुरक्षामा प्रतिकुल असर पु¥याएमा पाँच वर्षदेखि दश वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ ।
सजिलै प्रवेश
अन्य समयमा विमानस्थल गेटमा कडा चेक जाँच हुने सुर्खेत विमानस्थलमा भिआईपीको सवारी हुँदा भने आम नागरिक तथा राजनीतिक दलका कार्यकर्ताले भने सजिलै प्रवेश पाउने गरेका छन् । विमानस्थल प्रवेशका लागि गेटमा रहेका सुरक्षा निकायलाई फूलको माला देखाए पुग्छ । माला समाउँदै राजनीतिक कार्यकर्ता विमानस्थलको भिआईपी कक्षमा पुग्छन् र त्यहाँबाट सोझै रनवेमा ।
वीरेन्द्रनगरका–१० का स्थानीय हरिशंकर चौधरीले भने, ‘भिआईपी कक्षलाई गलत प्रयोग गरिएको छ । हामी सर्वसाधारण हवाई उडानका लागि विमानस्थल पुग्दा भने नियम लागू भएको हुन्छ । तर भिआईपी सवारीमा भने विमानस्थलमा नियमको कार्यान्वयन भएकै देखिदँैन ।’ भिआईपी कक्षलाई मर्यादाक्रमको रुपमा प्रयोग गर्ने गरिएको हुन्छ । भिआईपीको सुरक्षाका लागि नै फरक कक्षको व्यवस्थापन गरिएको हो । तर भिआईपीले नै विमानस्थल सुरक्षामा संवेदनशीलता थपिदिएको विमानस्थल कार्यालयका एक सुरक्षा अधिकारीको भनाई छ । उनकाअनुसार विमानस्थलको लागि सबैभन्दा संवेदनशील क्षेत्र रनवे नै हो । तर भिआईपी सवारीका समयमा राजनीतिक कार्यकर्ता रनवे छेउसम्मै पुगेर स्वागत गर्दा सुरक्षा चुनौती थपिन्छ, चाहेर पनि रोक्न सक्ने अवस्थामा हुँदैनौँ ।
यता सुर्खेत विमानस्थल प्रमुख उमेशकुमार पन्थीले भिआईपी स्वागत गर्न आएका नागरिक रनवे छेवैसम्म जानु गलत परिपाटी भएको बताए । उनले भने, ‘म भर्खर आएको छु, मैले पनि बुझनुपर्छ, तपाईंले भनेजस्तो भएको रहेछ भने नियन्त्रण गर्छु ।’
भिआईपी कक्षको दुरुपयोग
गृह मन्त्रालयले तोकेको मर्यादाक्रमका शुरुदेखि १९ नम्बरसम्म रहेका पदाधिकारीहरुलाई मात्र विमानस्थलमा भिआईपीकक्षको प्रयोग गर्ने अधिकार छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रीपरिषद्का पूर्वअध्यक्ष, प्रदेश प्रमुख लगायतका व्यक्तिहरुले विमानस्थलमा भिआईपी कक्षको प्रयोग गर्न पाउछन् । साथै नेपाल सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, प्रतिनिधि सभाका विपक्षी दलका नेता, नेपाल रत्न पाउने व्यक्ति, पूर्वप्रधानन्यायाधीश, संविधान सभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुखलगायत सेनानी, प्रहरी नायव उपरिक्षकसम्मका दर्जा भएका व्यक्तिहरुले भिआईपी कक्षको प्रयोग गर्न पाउने भए पनि सुर्खेत विमानस्थलमा पालना भएको पाईदँैन । मन्त्री र राजनीतिक दलका नेता आउँदा होस् या जाँदा अनाधिकृत व्यक्तिको भिआइपी कक्षमा भींड लाग्ने गर्दछ । मर्यादाक्रममा तोकिएका बाहेकका व्यक्तिले सजिलै भिआईपी कक्ष प्रयोग गर्दा खासै चेक जाँच हुँदैन ।
एक्सरे मेसिन नहुँदा सास्ती
सुर्खेत विमानस्थलमा ठूला एक्सरे मेशिनको अभाव रहेको छ । झोला तथा कार्गो चेक जाँचका लागि आवश्यक पर्ने एक्सरे तथा उपकरणहरु विमानस्थलसँग छैनन् । यात्रुको झोला खोलेर चेक जाँच गर्न सुरक्षाकर्मी बाध्य छन् । हातले खोलेर चेक जाँच गर्दा यात्रुले हैरानी खेप्नुपर्ने र भरपर्दो चेक जाँच नहुने सुरक्षाकर्मी बताउँछन् । विमानस्थलमा सुरक्षा चेकजाँचका लागि लगेज–व्यागेज एक्सरे मेशिन र कार्गो एक्सरे मेशिनको पनि आवश्यक पर्छ । उक्त उपकरणहरु नभएका कारण सुरक्षा निकाय विमानस्थलमा नागरिकका झोला खोलेर हेर्न बाध्य छन् । सो उपकरणको तुलनामा विमानस्थलमा मानव आँखाले झोला खोलेर गरेको चेकजाँच प्रभावकारी मानिदँैन ।
विमानस्थल प्रमुख पन्थी भन्छन्, ‘हामीसँग ह्याण्ड मेटल डिटेक्टर र वाल्क थ्रु मेटल डिटेक्टर मात्र छ । सुरक्षा चेक जाँचका लागि यी उपकरणहरु प्रयोग भइरहेका छन् ।’
विमानस्थल प्रमुख पन्थीले भने, ‘लगेज एक्सरे मेशिनका लागि हामीले माग गरेका छौं । आउँदो असार मसान्तसम्ममा आउने आशा लिएका छौं ।’
‘रनवेसम्म पुग्ने कार्य रोक्छौं’
कर्णाली प्रदेश प्रहरीका प्रहरी नायव उपरिक्षक लोकनाथ तिम्सिनाले विमानस्थलमा भिआईपी सवारीका समयमा रनवेसम्म नागरिक पुग्नु गलत भएको बताए । विमानस्थल सुरक्षाका लागि खटिएका सुरक्षा युनिटलाई सो कार्य निरुत्साहित गर्नका लागि निर्देशन दिइने उनले जानकारी दिए । उनले भने, ‘विमानस्थलको सुरक्षाका लागि खटिएको प्रहरी जिल्ला प्रहरी कार्यालयअन्तर्गत छ । जिल्ला प्रहरीमा हामी सो सम्बन्धमा जानकारी दिन्छांै । रनवेसम्म सहजै रुपमा नागरिक भिआईपी स्वागतको नाममा जाने कार्य रोकिन्छ ।’