काठमाडौं । देशको राजधानी काठमाडौं प्रशासनले अनुमति बिनाका सवारी साधन र पैदल यात्रुलाई काठमाडौं आवतजावतमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गरेर पास नभएका सवारी साधन र यात्रुहरुलाई प्रवेश निषेध गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मानबहादुर बुढद्धारा जारी सूचनामा बाह्य जिल्लाबाट आउने पैदल यात्रुलाईसमेत काठमाडौं प्रवेशमा निषेध गरिएको उल्लेख छ ।
एम्बुलेन्स, शवबाहन, औषधि तथा स्वास्थ्य सामग्री, सबै प्रकारका औधोगिक कच्चा पदार्थ र मालबस्तु, पेट्रोलियम पदार्थ, ग्यास र खानेपानी बोकेका सवारी तथा ट्यांकर, सबै प्रकारका खाद्य वस्तु, कृषि कार्यसँग सम्बन्धित सामग्री, पशुपंक्षीजन्य आहारा, खसी, बोका, राँगा, कुखुरा, माछा, तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ र निर्माण सामग्री बोकेका सवारी साधन भने पासबिना सञ्चालन हुन पाउने स्थानीय प्रशासनले जनाएको छ ।
प्रशासन कार्यालयले काठमाडौंका मूल सडक, भित्रि सडक र गल्लीहरुमा पनि भिडभाड नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । सूचनामा अनावश्यक भिडभाड गरे कानुन बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।
स्थानीय प्रशासनले यसअघि जारी भएका सबै पासहरु रद्द भएकाले नयाँ जारी हुने सवारी पास निलो रंगको हुने जनाएको छ ।