फिर्ता भएकामध्ये सबैभन्दा बढी बाग्मती प्रदेशका पाँच हजार ३५८ जना,सबैभन्दा बढी कुवेतबाट तीन हजार ५२७ र सबैभन्दा कम पाँच जना श्रीलङ्काबाट स्वदेश फिर्ता
कोभिड–१९ को सङ्क्रमण देखिएपछि विदेशमा अप्ठेरोमा परेका करिब १६ हजार २९४ जना नेपाली नागरिक विमानबाट नेपाल आएका छन्। यो विवरण विहीबारसम्मको हो। विभिन्न २१ देशमा अप्ठेरोमा परेका १६ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएको ‘कोभिड–१९ सङ्कट ब्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)’ ले जानकारी दिएको छ।
फिर्ता भएकामध्ये सबैभन्दा बढी बाग्मती प्रदेशका पाँच हजार ३५८ रहेका छन्। सबैभन्दा बढी कुवेतबाट तीन हजार ५२७ र सबैभन्दा कम पाँच जना श्रीलङ्काबाट स्वदेश फिर्ता भएका हुन्।
नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि चैत ११ गतेबाट मुलुकभर लागू गरिएको लकडाउनका कारण उद्बार र अत्यावश्यक वस्तु ढुवानीबाहेक सबै अन्तर्राष्ट्रिय र आन्तरिक उडान ठप्प छन्।
अन्तर्राष्ट्रिय हवाई यातायात पनि बन्द भएपछि विदेशमा अप्ठेरोमा परेर स्वदेश आउन चाहने नेपालीलाई सरकारले जेठ २१ गतेदेखि सुरक्षित रुपमा स्वदेश फर्काउने कार्य गरिरहेको छ।
यस अवधिमा अफगानिस्तानबाट १८, अष्ट्रेलियाबाट ४८३, ओमानबाट ३१३, कतारबाट एक हजार ८१२, म्यानमारबाट २६, जापानबाट ४९२, थाइल्याण्डबाट ३२६, दक्षिण कोरियाबाट २२८, बङ्गलादेशबाट ८४१, मलेसियाबाट एक हजार ५३७, माल्दिभ्सबाट ७०९ जना फर्किएका छन्। त्यस्तै यूएईबाट दुई हजार ७३७, सउदी अरेबियाबाट दुई हजार दुई, सिङ्गापुरबाट १४६, हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ४२०, संयुक्त राज्य अमेरिकाबाट २८२ र संयुक्त अधिराज्यबाट २२९ नेपाली स्वदेश फिर्ता भएका छन् ।
कोभिड–१९ विरुद्धको प्रतिकार्यका लागि उच्चस्तरीय समन्वय समितिको मातहतमा सहजीकरण समितिअन्तर्गत रही प्रतिकार्यलाई प्रभावकारी ढङ्गले सम्पादन गर्न सीसीएमसीको स्थापना भएको थियो। पछि सरकारले जेठ २८ गते उच्चस्तरीय समन्वय समिति विघटन गरी उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको संयोजकत्वमा विभिन्न १० मन्त्री सदस्य रहेको सीसीएमसी निर्देशक समिति गठन गरेको हो।