काठमाडौँ । देशको राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरसका संक्रमितको संख्या निकै बढ्दै गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १० दिनअघि कोरोना संक्रमितको संख्या ७८ जना मात्रै थियो । सोमबार यो संख्या तीन गुणा ९२ सय ३९० पुगेको छ । तीमध्ये १ सय १३ जना महिला र १ सय २६ जना पुरुष छन् ।
तीनै जिल्लामा पछिल्लो एक सातामा संक्रमितको संख्या ह्वात्तै बढेको छ । असार १५ सम्म ९२ जना संक्रमित रहेकामा १६ गते १ सय ६ जना पुग्यो । १७ गते १ सय २३ संक्रमित थिए भने १८ गते यो संख्या बढेर १ सय ५५ पुग्यो । आइतबार १ सय ८५ जना संक्रमित रहेकामा सोमबार २ सय ३९ पुगेको छ ।
देशमा पहिलोपटक कोरोना देखिएको युवालाई पनि काठमाडौंकै तथ्यांकमा समावेश गरिएको छ । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ मा नेपाल आएकी मैतीदेवीकी एक युवतीमा चैत ९ मा कोरोना देखिएको थियो । उनी मुलुककै दोस्रो संक्रमित हुन् । उनलाई कोरोना देखिएलगत्तै चैत ११ देखि सरकारले देशमा लकडाउन घोषणा गरेको थियो । वैशाख ३० मा कञ्चनपुरबाट आएकी एक महिलामा कोरोना पुष्टि भएको थियो । त्यही दिन सुनसरीबाट आएकी एक युवती र नेकपाका नेता भीम रावलका सुरक्षामा खटिने सशस्त्र प्रहरी जवानलाई कोरोना देखिएको थियो । वैशाख ३० सम्म संक्रमितको संख्या सात जना मात्रै थिए । जेठ १५ मा संक्रमितको संख्या २४ जना पुग्यो । जेठ अन्तिममा भने संक्रमितको संख्या ३९ मा सीमित रहेकामा असार १३ मा ८३ जना भयो ।
यसरी काठमाडौं उपत्यकामा देखिएको संक्रमितको तथ्यांक केलाउँदा असार १६ देखि मात्रै तीन अंकले बढेको देखिन्छ । भक्तपुर र ललितपुरको तुलनामा काठमाडौंमा संक्रमित दर पनि बढी छ । असार १६ मा ७२ जना संक्रमित रहेकामा १८ मा १ सय १० पुगेको थियो । काठमाडौंमा आइतबार संक्रमितको संख्या १ सय ३७ थियो । सोमबार यो संख्या बढेर १ सय ६१ पुगेको छ । ललितपुरमा जेठ ६ मा कन्ट्याक्ट ट्रेसिङमै खटिएका चिकित्सकलाई संक्रमण देखिएको थियो । भक्तपुरमा भने सुनसरीबाट आएर ठिमीमा साथीको कोठामा बसेकी युवती र सशस्त्र प्रहरीको जवानलाई पहिलो पटक कोरोना देखिएको थियो ।
आइतबारमात्रै नयाँ ३० जनामा संक्रमणको पुष्टि भएपछि कुल संक्रमितको संख्या २ सय ३९ पुगेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । महाशाखाका अनुसार काठमाडौंमा १ सय ६१, ललितपुरमा ३९ र भक्तपुरमा ३९ जना गरी उपत्यकामा हालसम्म २ सय ३९ जना संक्रमित छन् ।
सोमबार मात्रै काठमाडौंमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना गरी ५४ नयाँ संक्रमित थपिएका हुन् । ईडीसीडीका अनुसार सोमबार अपराह्नसम्म १ सय ५३ संक्रमित आइसोलेसनमा छन् । तीमध्ये केहीको आईसीयूमा भर्ना गरेर उपचार भइरहेको छ । ललितपुरमा १ र काठमाडौंमा १ जनाको मृत्यु भएको छ । सोमबार संक्रमण पुष्टि भएका ५४ जना र आइतबार पुष्टि भएका २ जनालाई सोमबार रातिसम्म अस्पताल ल्याइएको छैन ।
अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३२ जना, पाटन अस्पतालमा ४६ जना, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा ५७ जना, दुवाकोटको केएमसी अस्पतालमा १८ जना संक्रमित रहेको ईडीसीडीले जानकारी दिएको छ । पाटन अस्पताल स्रोतका अनुसार ४५ शय्याको कोभिड युनिट भरिएको छ । आइसोलेसनमा समेत ८९ जना शंकास्पद बिरामीलाई भर्ना गरेर राखिएको छ । ‘संक्रमितहरूले फोन गरेर हामी कहाँ जाने भनेर सोध्छन्, हामीसँग खाली बेड नै छैन,’ अस्पताल स्रोतले भन्यो, ‘मन्त्रालयको हटलाइनमा फोन गरेर सोध्नुस् भन्नुको हामीसँग पनि अर्को विकल्प छैन ।’
टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जनरल बेड भरिएपछि आईसीयूमा भर्ना गरेर उपचार भइरहेको बताए । उनका अनुसार आईसीयूमा आठ जनालाई भर्ना गरिएको छ । एक सातायता उपत्यकाका तीनै जिल्लामा संक्रमितको संख्या बढ्न थालेपछि ईडीसीडीमा कन्ट्याक्ट ट्रेसिङको जिम्मा पाएकाहरूको व्यस्तता निकै बढेको छ । ईडीसीडीका प्रमुख डा। वासुदेव पाण्डेका अनुसार काठमाडौंमा केही समययता जिल्लाबाट आउने तथा विदेशबाट आउनेको संख्यासँगै संक्रमितको संख्या पनि बढेको हो । ‘अहिले पनि संक्रमितको विश्लेषण गर्दा अधिकांश संक्रमण विदेशबाट भित्रिएको देखिन्छ,’ उनले भने, ‘केही स्थानमा लोकल ट्रान्समिसन पनि छ तर समुदायमै गइसक्यो भनेर ठोकुवा गर्न मिल्ने अवस्था छैन ।’ उनका अनुसार वाग्मती र गण्डकी प्रदेशको अहिलेको अवस्था भनेको ‘स्प्रोडिक केसस’ ९छिटपुट० को हो भने अन्य प्रदेशलाई ‘क्लस्टर अफ केसस’ (समूहगत रूपमा) मा राखिएको छ ।
उनका अनुसार काठमाडौं उपत्यका कोरोना संक्रमणको नयाँ ‘हटस्पट’ बन्ने जोखिम बढ्दै गएको छ । सोमबार थपिएको संख्याले उनको दाबीलाई थप बल मिलेको छ । त्यसमा पनि उपत्यकाका विभिन्न १२ स्थानमा ‘ट्राभल हिस्ट्री’ (यात्राको इतिहास) नै नभएका १२ जनामा संक्रमण देखिएको पुष्टि भएपछि ईडीसीडीलाई कतै समुदायमै पो संक्रमण पुगिसक्यो कि भनेर थप तनाव थपिएको छ । ‘अहिलेसम्म उपत्यकामा समुदायमा संक्रमण पुगेको छरछैन यकिन गर्न सक्ने अवस्था छैन,’ डा. पाण्डेले भने, ‘हामीले ट्राभल हिस्ट्री नदेखिएका संक्रमित भेटिएका स्थानबाट करिब एक सय जनाको हाराहारीमा थ्रोट स्वाब संकलन गरेर परीक्षण गर्न थालेका छौं । सबै १२ स्थानमा परीक्षण सकिएपछि अवस्था के हो भन्ने थाहा होला ।’
महाशाखा प्रमुख डा। पाण्डेका अनुसार काठमाडौंको तीनकुने, कपन, खुसिबु, कागेश्वरी, मैतीदेवी, टोखा, कोटेश्वर र शंखमूल, ललितपुरको नख्खु र प्यूटार तथा भक्तपुरको भोलाछें र बोडेबाट नमुना संकलन गर्ने कार्य सुरु गरिएको छ । जसअन्तर्गत तीनकुने, नख्खु र कोटेश्वरबाट नमुना संकलन गरेर परीक्षणसमेत भइसकेको छ । त्यसमा सबै नमुनाको रिपोर्ट नेगेटिभ आएको छ । यस्तै टोखाको रिपोर्ट आउन बाँकी नै छ भने शंखमूल र बोडेबाट सोमबार नमुना संकलन गरिएको छ । डा. पाण्डेका अनुसार अन्य बाँकी स्थानबाट पनि छिट्टै नमुना संकलन गर्ने व्यवस्था मिलाइँदै छ ।
यसरी ट्राभल हिस्ट्री नै नभई संक्रमित भएकाहरूमा सानोमा ४ वर्षीया बालिकादेखि ठूलोमा ६५ वर्षीया महिलासम्म छन् । तीमध्ये ४, ५ १४ र १८ वर्षका बालबालिका १–१ जना, २२ वर्षका २ जना, २५, ३२, ३४, ३५, ४५ र ६५ वर्षका १–१ जना छन् ।