उपत्यकामा मंगलबारसम्म २ सय ६७ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।
इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले अहिलेसम्म उपत्यकामा २ सय ६७ जना व्यक्तिमा संक्रमण पुष्टि भएको जनाए।
यीमध्ये ७९ जना विदेशबाट उद्धार उडानमार्फत् आएको पाण्डेले बताए।
'उहाँहरू बढी कुवेत, साउदी र माल्दिभ्सबाट आउनुभएको छ,' उनले भने।
डा. पाण्डेले अहिलेसम्म १७ हजार मानिस विदेशबाट उद्धार उडानमार्फत् आएको र तीमध्ये ३५ प्रतिशतले मात्र पिसिआर परीक्षण गरेको जनाए।
निर्देशक पाण्डेले भने, 'बाँकी ३५ प्रतिशतले आरडिटी गरेर आउनुभएको छ। केहीले भने दुबै परीक्षण नगरी आउनुभएको छ। यतिमात्र हैन कति मानिस त लक्षण हुँदाहुँदै पनि आउनुभएको छ। त्यस्ता व्यक्तिलाई विमानस्थलमा रहेको हेल्थ डेस्कले सिधैं अस्पताल पठाएको छ।'
उनले विदेशबाट पिसिआर नेगेटिभ आएकाहरूलाई होम क्वारेन्टिनमा पठाउने गरेको र परीक्षण नगरी आएकालाई होल्डिङ सेन्टर र क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको जनाए।
उपत्यकामा संक्रमण बढ्दै गएको भए पनि यो समुदायस्तरमा नगएको पाण्डेले दाबी गरे।
उनले अहिलेसम्म कुल संक्रमितमध्ये ९७ प्रतिशत आयातित केस रहेको र तीन प्रतिशत मात्र 'ट्राभल हिस्ट्री' नभएको संक्रमित रहेको जनाए।
साथै संक्रमितहरूमध्ये ९९ प्रतिशतमा लक्षण नदेखिएको उनी बताउँछन्।