काठमाडौं । वर्षसँगै गएको पहिरोमा परेर देशका विभिन्न ठाउँमा आज मात्रै २१ जनाको मृत्यु भएको छ ।
पहिरोमा परेर म्याग्दी, कास्की, लमजुङ र पूर्वीरुकुम लगायतका जिल्लामा २१ जनाको मृत्यु भएको छ भने अन्य विभिन्न जिल्लामा ३५ जना जना वेपत्ता भएका छन् ।
म्याग्दीमा पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ । धवलागिरी गाउँपालिका-६ मराङको रिखामा पहिरोले १० घर बगाउँदा ९ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष थमसरा पुनले जानकारी दिइन् । पहिरोका कारण रिखा गाउँ जोखिममा परेको छ । त्यस्तै वडा नं(७ मा पनि पहिरोले ठूलो क्षति पुर्याएको उनले बताएकी छन् । त्यहाँ १३ जना वेपत्ता भएका छन् ।
त्यस्तै म्याग्दीकै मालिका र मंगला गाउँपालिकाका विभिन्न ठाउँमा १० जना वेपत्ता भएका म्याग्दीका डिएसपी किरणजंग कुँवरले जानकारी दिए । सशस्त्र प्रहरी, नेपाली सेना र प्रहरीको सहयोगमा स्थानीयले उद्दारमा जुटेका छन् ।
कास्कीका विभिन्न ठाउँमा गएको पहिरोमा परेर ७ जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका-१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ । कास्कीका डिएसपी सुभाष हमालले घरधनी थापासहित उनकी श्रीमती ४५ वर्षीया सोममाया, नाति सुवान, दमौली घर भएका ८ वर्षीय शीतल श्रेष्ठ र छिमेकी इसिका थापाको ज्यान गएको जानकारी दिए ।
पोखरा महानगरपालिका हेम्जामा पनि घर भत्किएर स्थानीय हिमकला अधिकारीको मृत्यु भएको छ । पोखरा(२६ मा दुर्गाबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा परेर लमजुङमा एकैघरका तीनजनाको मृत्यु भएको छ । बेसिशहर नगरपालिका-७ सातबिसेमा पहिरोमा परेर दीपक तामाङ, उनकी श्रीमती र छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । त्यस्तै लमजुङको क्व्होलासोथारका तुलबहादुर गुरुङको घर पहिरोले बगाउँदा दुईजना घाइते भएका छन् ।
पहिरोमा परेर रुकुमपूर्वमा दुईजनाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका-३ रेजेखोला भन्ने ठाउँका तुलबहादुर दमाइको घर पहिरोले बगाउँदा उनकी श्रीमती २८ वर्षीया सीता र ६ वर्षीय छोरा हाविलको मृत्यु भएको छ । ८ वर्षीया छोरी हिरा घाइते भएकी छन् ।
पहिरोले घर बगाउँदा जाजरकोटमा १२ जना वेपत्ता भएका छन् । बारेकोट गाउँपालिका-४ सार्की टोलमा पहिरो जाँदा दुई परिवारका १२ जना वेपत्ता भएका हुन् । पहिरोमा स्थानीय गोपाल सार्की र कालु सार्कीका परिवारका सदस्यहरु बगाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।