काठमाडौं । कोरोना भाइरसको परिक्षण गर्न आउने भन्दै तपाईको मोबाइलमा आउने एसएमएसप्रति नझुक्कीन प्रहरीले आग्रह गरेको छ ।
कोरोनाको महामारीमा कतिपय सूचना पनि घातक हुनसक्ने भन्दै प्रहरीले सर्वसाधारणले सुझाव दिएको हो । कोरोना संक्रमितको सम्पर्कमा गएकोले तपाई सामाजिक दूरी कायम गर्दै पीसीआर परीक्षणका लागि तोकिएको मिति, स्थान र समयमा परीक्षणका लागि आउनु भन्दै एसएमएस गर्ने गरेको पाइएको छ ।
प्रहरीका अनुसार यस्तो मेसेज पठाउँदै ठगी गर्ने गरेको पाइएको छ– ‘हाम्रो रेकर्डअनुसार तपाईँ कोरोना पोजिटिभ भएको व्यक्तिसँग सम्पर्कमा आउनुभएकाले तपाईँ आफैंलाई क्वारेन्टीन गर्नुहुन र परिवारका सदस्यहरू तथा साथीहरूसँग सामाजिक दूरी कायम राख्न अनुरोध गरिएको छ । कृपया पीसीआर परीक्षणको लागि निर्धारित समय र स्थानमा उपस्थित हुनुहोला । तपाईंको उपस्थिति अनिवार्य छ । अन्यथा रु. १५,५५० जरिवाना गरिनेछ ।’
तपाईको मोवाइलमा पनि यस्तो एसएमएस आएको छ रु छैन भने आउनसक्छ । केही समययता अपरिचित मानिसले यस्ता एसएमएसहरु व्यापक रुपमा पठाउन थालेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले जनाएको छ । यस्ता झूठा र गलत सूचना दिई जनमानसमा आतंक मच्चाइरहेको पाइएपछि सीआइबीले अनुसन्धान समेत सुरु गरेको छ ।
प्रविधिको प्रयोग गरी छल, छद्म तथा धोखाधडीपूर्ण तरिकाले आपराधिक मनोवृत्तिका व्यक्तिले यसको दुरुपयोग गरिरहेकाले सर्वसाधारणलाई हानी नोक्सानी पुर्याउनसक्ने भन्दै ब्यूरोले ‘यस्ता गलत सन्देशबाट बच्न सबैलाई ध्यानाकर्षण’ समेत गराएको छ । ‘
‘पिटुपी अर्थात् पर्सन टु पर्सन’ नभई इन्टरनेटको सहायताले एप्लिकेशनको प्रयोग मार्फत यस्ता एसएमएसहरु पठाउने गरेको पाइएको छ ।
यस्ता छन् प्रहरीको पाँच बुँदे सुझाव
१. एटुपी अर्थात् एप्लिकेसन टु पर्सन एसएमएसबाट प्राप्त एसएमएसहरु छल, छद्म तथा धोखाधडी समेत हुनसक्ने भएकाले मोबाईल प्रयोगकर्ताले सावधानीपूर्वक प्रतिक्रिया गर्नुहुँदैन । यसलाई बेवास्ता गर्नुहोस् वा एसएमएस हटाउनुहोस् ।
२. वित्तीय तथा अन्य सेवा प्रदायक संघसंस्था र टेलिकम्युनिकेसन कम्पनीहरूले तपाईलाई कहिले पनि एसएमएसमार्फत् तपाईंको व्यक्तिगत विवरणहरू उपलब्ध गराउन नसोध्ने हुँदा कहिल्यै पनि आफ्नो विवरण एसएमएसमार्फत नदिनुहोस् ।
३. एसएमएसमार्फत् प्राप्त भएका लिंकहरूमा क्लिक नगर्नुहोस् ।
४. एसएमएसमार्फत प्राप्त हुने लटरी वा छुट जस्ता प्रस्तावको प्रलोभनमा नपर्नुहोस् । यो धोखाधडी हो, सावधान रहनुहोस् ।
५. झुक्याउने एसएमएस प्राप्त गर्नुभयो भने तुरुन्त प्रहरी वा तपाईँको टेलिकम नेटवर्क प्रदायकलाई सम्पर्क गर्नुहोस् ।