काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । यसकासाथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भू–भागदेखि केही दक्षिणतिर अवस्थित छ। जसअनुसार देशभर सामान्य देखि पुर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज विहान २ बजे मापन भएको डाटा अनुसार पछिल्लो ३ घण्टामा कपिलवस्तुको बाणगंगा र आसपास भारी बर्षा भएको थियो भने थप बर्षा हुन सक्ने तथा बाणगंगा, गुडुंग लगायत आसपासका स–साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने विभागले जनाएको छ ।
त्यसैगरी पछिल्लो ३ घण्टामा परासी, बर्दघाट, डण्डा बजार र नवलपरासीका धेरैजसो स्थानमा आज विहान ५ बजे भारी बर्षा मापन भएको छ । यसकासाथै थप बर्षा हुन सक्ने सम्भावना पनि रहेको छ ।
जसअनुसार आरूणखोला, गिरूवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुकासाथै प्रदेश १ र प्रदेश ५ का केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।
आज राती देशभर पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुकासाथै प्रदेश १ का केही स्थानहरुमा भारी वर्षाकोसमेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।