काठमाडौं। सार्क सदस्य राष्ट्रहरूमा सबैभन्दा बढी जनसंख्या भएको भारत सबैभन्दा बढी कोरोना संक्रमणको चपेटामा परेको छ।
भारतमा हालसम्म ११ लाख १८ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ। कोरोना संक्रमणका कारण मृत्यु भएकाहरूमा पनि भारत नै अगाडि छ।
त्यहाँ मृत्यु भएकाको संख्या साढे २७ हजार नजिक पुगिसकेको छ। त्यसो त कोरोनामुक्त भएकाको संख्या पनि भारतमा उल्लेख्य देखिन्छ। त्यहाँ ७ लाखभन्दा बढी मानिस कोरोनामुक्त भइसकेका छन्।
अर्को सार्क राष्ट्र पाकिस्तानमा २ लाख ६५ हजारभन्दा बढी संक्रमित भएकामा ५ हजार ५९९ जनाले ज्यान गुमाउँदा २ लाख ६ हजार जति उपचारपछि निको भइसकेका छन्।
श्रीलंकामा तुलनात्मकरुपमा कोरोनाको प्रभाव कम छ। त्यहाँ २ हजार ७२४ जना संक्रमित भएकामा ११ जनाको मृत्यु हुँदा २ हजार ३५ जना निको भइसकेका छन्।
बंगलादेशमा पनि संक्रमितको संख्या २ लाख नाघेको छ। त्यहाँ १ लाख १६ हजारभन्दा बढी निको भइसकेका छन् भने २६ सय जनाभन्दा बढीको मृत्यु भएको देखिन्छ।
त्यस्तै अफगानिस्तानमा करिब साढे ३५ हजार संक्रमित देखिएका छन्। त्यहाँ मृत्युदर उच्च देखिएको छ।त्यहाँ एक हजार १८१ जनाको मृत्यु हुँदा २३ हजार ६३४ जना भने उपचारपछि निको भइसकेका छन्।
सार्क राष्ट्रमा सबैभन्दा कम कोरोनाको प्रभाव भुटानमा देखिएको छ। जहाँ ८९ जना संक्रमित भएकामा ८२ जना निको भइसकेका छन्।
मालदिभ्समा २९६६ जना संक्रमित भएकामा १५ जनाको मृत्यु भएको छ भने २३६२ जना डिस्चार्ज भएका छन्। नेपालमा भने हालसम्म संक्रमित भएकाको संख्या १७ हजार ६५८ जना पुगेको छ। यहाँ ४० जनाको मृत्यु हुँदा ११ हजार ६९५ उपचारपछि निको भइसकेका छन्।