काठमाडौँ । अविरल वर्षापछि मुलुकभर बाढीपहिरो बढेसँगै उद्धार र राहतका लागि नेपाली सेनाले तयारी अवस्थामा बसेको जनाएको छ ।
उद्धार र राहतका लागि नेपाली सेनाले चार ठाउँमा तीन स्काईट्रकसहित १३ ओटा हवाई साधन तयारी अवस्थामा राखेको छ । सेनाले तीन स्काईट्रक र १० ओटा हेलिकप्टरहरु चार फरक स्थानमा आवश्यकता अनुसार तैनाथ गरेर राखेको हो । पश्चिम एयरबेस सुर्खेतमा एक–एकवटा स्काईट्रक, एमआई–१७ र इकुरेल खटाइएको छ ।
यस्तै, मध्य एयरबेस काठमाडौंमा दुई वटा स्काईट्रकसहित एमआई–१६, इकुरेल, अगस्टा, पिपर र कासा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । पूर्व एयरबेस सुनसरीको इटहरीमा एक बेल हेलिकप्टर र चितवनको भरतपुरमा एक एमआई–१७ हेलिकप्टर तयारी अवस्थामा छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार सेनाले विपद् व्यवस्थापनका लागि ती साधनहरुलाई यसअघि म्याग्दी, सिन्धुपाल्चोक, तनहुँ र म्याग्दीलगायतका स्थानमा प्रयोगमा पनि ल्याइसकेको छ ।
यस्तै, सेनाले प्रदेश–२ को रौतहटको गौर नगरपालिका छठघाट इलाका र गढीमाई नगरपालिका–१ समनपुरमा हेलिकप्टर आवत–जावतका लागि अस्थायी हेलिप्याड बनाएको छ ।
प्रवक्ता पौडेलले नेपालका विभिन्न स्थानमा १८ वटा फिल्ड अस्पताल तयारी अवस्थामा रहेको बताए । सेनाले नेपालगन्ज, पोखरा र इटहरीका तीनै सैनिक अस्पतालमा ५०–५० जनाको उपचार गर्न सकिने बताएको छ ।