खड्क सुनार
मुगु । विश्वभर महमारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस (कोभिड १९) का कारण झण्डै पाँच महिनादेखि बन्द रहेका हिमाली जिल्ला मुगुका होटल तथा खुद्रा पसल खुलेका छन् ।
सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि चैत ११ गतेदेखि देशभर पूर्णरूपमा लकडाउन गरेको थियो । एक सय २० दिनपछि गएको साउन ६ गते लकडाउन खोलेपछि सरकारकै निर्णय अनुसरा मुगुमा समेत होटेल पसल खुले । तरपनि कोरोना संक्रमणको त्रासका कारण गाउँदेखि ग्राहकको आवतजावत निकै पातलिएपछि होटेल पसलमा खासै कारोबार भएको छैन् ।
जिल्ला सदरमुकाम गमगढी बजारमा रहेका साना तथा ठूला पसलहरु लकडाउन हटेसँगै खुला गरिएकोभएपनि खासै कारोबार नभएको गमगढी तल्लो बजारमा खुद्रा पसल गर्दे आएकी छाँयानाथ रारा नगरपालिका १२ का भावी विकले जानकारी दिइन् ।
उनका अनुसार होटललाई साउन १५ देखि मात्रै सञ्चालन गर्ने भनिएकोमा सोहीअनुसार अहिले मुगुका प्राय होटलहरू खुलेका हुन । तर, होटल खुले पनि ग्राहक भने कोही आएका छैनन् ।
होटल व्यवसायी ग्राहकको प्रतिक्षामा छन् । स्वास्थ्य मापदण्ड अपनाएर सरकारले होटल, रेष्टुरँण्ट खुल्ने भने पनि ग्राहक नहुँदा होटल चल्ने अवस्था नरहेको स्थानीय व्यवसायीले गुनासो गरेका छन् ।
अहिले होटल खोले पनि फाटफुट मात्रै ग्राहक आउने गरेको बताइएको छ । अवस्था सामान्य नभएसम्म होटल व्यवसाय सञ्चालनमा आउने अवस्था देखिएको छैन ।
‘ग्राहक नै छैनन् । यस्तो समयमाहोटल खोलेर मात्र कसरी व्यवसाय गर्ने ? उद्योग वाणिज्य संघ मुगुका कर्मचारी दानबहादुर बुढाले भने, ‘पसल र होटेल खोलेर मात्र के गर्नु ग्राहक नआएपछि होटेल पसल खोलेर बस्नलाई मात्रै झन गाह्रो हुने अवस्था छ ।'