एजेन्सी । रुसी भ्याक्सिन मानिसमा परीक्षणको कुरा त परै जाओस्, बाँदरमा पनि नगर्ने ट्रम्पको भनाइ।
भ्याक्सिन उत्पादनलाई लिएर रुस र अमेरिकाबीच घोचपेच चल्दै आएको छ। रुसी भ्याक्सिन दुई वर्षसम्म प्रभावकारी रहने दाबी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी भ्याक्सिनको खिल्ली उडाएका छन्। ‘‘रुसी भ्याक्सिन मानिसमा परीक्षणको कुरा त परै जाओस्, बाँदरमा पनि गर्ने छैनौं,’’ उनले भने। अमेरिकाले रुसी भ्याक्सिनलाई अधूरो बताएको छ र त्यसलाई अमेरिकाले गम्भीरतापूर्वक नलिएको अधिकारीहरुले बताएका छन्। रुसी भ्याक्सिनमाथि अन्य केही मुलुकले पनि आशंका जनाएका छन्।
समाचार संस्था सीएनएनका अनुसार रुसले आफ्नो भ्याक्सिनबारे राष्ट्रपति ट्रम्पलाई जानकारी गराएको थियो। ह्वाइट हाउन सेक्रेटरी कायले म्याकनीले यसको पुष्टि गरेकी छन्। उनका अनुसार अमेरिकी भ्याक्सिनले तेस्रो चरणको कठोर परीक्षण पार गर्दै मानक पूरा गर्नु पर्छ।
रुसले आफ्नो भ्याक्सिनसँग जोडिएका सबै जानकारी अमेरिकासँग बाँड्न चाहेको बताएको छ। अमेरिकामै त्यस्तो भ्याक्सिन बनाउने अनुमति दिन समेत आफू तयार रहेको रुसले स्पष्ट पारेको छ।
केही अमेरिकी कम्पनीले रुसी भ्याक्सिनमा चासो राखेको बताइएको छ। यति हुँदाहुँदै पनि भ्याक्सिन उत्पादनका विषयमा रुस र अमेरिकाबीच घोचपेच चल्दै आएको छ। रुसले आफ्नो भ्याक्सिन प्रभाकारी र सुरक्षित रहेको दाबी गर्दै आएको छ।
अगस्ट ११ तारिखमा जब रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले भ्याक्सिन तयार पारेको र यो संसारकै पहिलो भ्याक्सिन भएको घोषणा गरे तब यसमाथि राजनीति सुरु भएको छ। भ्याक्सिन र कोरोनालाई लिएर राजनीति हुन थालेको सन्दर्भमा चीनले पनि आपत्ति जनाउँदै आएको छ।
रुसी समाचार एजेन्सी तासका अनुसार मस्कोस्थित गमेलिया रिसर्च सेन्टर फर एपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीका निर्देशक अलेक्जेन्डर गिन्ट्सबर्गले यो भ्याक्सिन दुई वर्षसम्म प्रभावकारी रहने बताएका छन्।