काठमाडौँ । वाणिज्य बैंकहरूको कर्जा असोज अन्तिम साता मात्रै ७० अर्ब रुपैयाँले बढेको छ । पहिलो त्रैमास ९साउनदेखि असोज० सम्मको अवधिमा करिब १ खर्ब २९ अर्बले कर्जा लगानी बढाएका बैंकहरूले अन्तिम साता मात्रै यो दरमा कर्जा लगानी बढाएका हुन् ।
‘बैंकहरूले व्यवसायीहरूले तिर्न नसकेको कर्जाको ब्याज पुँजीकरण गरिदिएको र यसअघि जारी हुन बाँकी रहेको कर्जा लगानी भएकाले पनि कर्जा लगानी बढेको हो,’ नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी निर्देशक भुवन दाहालले भने, ‘२० प्रतिशत थप चालू पुँजी कर्जा पनि गएको छ ।’
राष्ट्र बैंकले कोभिड–१९ का कारण प्रभावित गत असारसम्म गएका कर्जाको साँवा र ब्याज तिर्ने भाका प्रभावअनुसार आगामी पुस, चैत र असारसम्मको अवधि थपिदिएको छ । तर, ब्याज रकमलाई समेत भुक्तानीका लागि मासिक किस्तामा मिलाउन सकिने सुविधा दिए पनि पुँजीकरण गर्ने सुविधा भने दिएको छैन । असारपछिको गएको कर्जामा ब्याज पुँजीकरण गरिएको भए पनि त्यसलाई सहज रूपमा भने लिनुपर्ने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।
‘यो विषम अवस्थामा व्यवसायीहरू पनि बचाउनुपर्ने भएकाले असारपछिको कर्जाको ब्याज पुँजीकरण भएको हुन सक्छ,’ राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले भने, ‘बैंकहरूले एभरग्रिनिङ नै गरे भन्न नमिल्ला, यद्यपि राष्ट्र बैंकले बल्ल वित्तीय विवरण पाइरहेको छ, त्यसको अध्ययन हुँदै छ ।’ बैंकहरूले एभरग्रिनिङ गरेको पाइए पहिलो त्रैमासिक मौद्रिक नीतिको समीक्षामा केही नीतिगत व्यवस्था आउने उनले स्पष्ट पारे । बिग्रन लागेको कर्जाको गुणस्तर राम्रो देखाउन ऋणीलाई पुरानो कर्जा वा ब्याज तिर्न सकिने गरी नयाँ कर्जा जारी गर्नुलाई एभरग्रिनिङ भनिन्छ । केही वर्षदेखि अन्तर्राष्ट्रिय मुद्राकोषले समेत नेपाली बैंकहरूको सन्दर्भमा यो विषयलाई उठाउँदै आएको थियो ।
गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा वाणिज्य बैंकहरूको निक्षेप करिब २३ प्रतिशतले बढेको छ भने कर्जा मात्रै १५ दशमलव ४० प्रतिशतले बढेको हो । गत वर्ष असोजमा २९ खर्ब ७३ अर्ब निक्षेप संकलन र २६ खर्ब २९ अर्ब कर्जा लगानी गरेको बैंकहरूले चालू आवको असोजसम्ममा ३६ खर्ब ५४ अर्ब निक्षेप संकलन र ३० खर्ब ३५ अर्ब कर्जा लगानी गरेका छन् ।
गत असारको तुलनामा भने कर्जा लगानी मात्रै ४ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । बैंकहरूले असारमा २९ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । गत असारको तुलनामा पाँच बैंकको भने कर्जा लगानी घटेको छ । हिमालयनको ३ अर्ब ११ करोड, लक्ष्मीको १ अर्ब ५८ करोड, नेपाल बंगलादेशको १ अर्ब २५ करोड, नेपाल एसबिआईको ३ अर्ब २६ करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंकको भने ४ अर्ब १२ करोड रुपैयाँले कर्जा घटेको हो । गत असारको तुलनामा एनआइसी एसिया, प्रभु, नबिल र एनएमबिको भने धेरैले कर्जा लगानी बढेको छ ।