काठमाडौं। भक्तपुरको भक्तपुर नगरपालिका-२, इटापाको प्लानिङस्थित नरकटघारी खोल्सामा फेला परेको शवको सनाखत भएको छ।
आइतबार बिहान ७:५० मा फेला परेको युवकको शव ३५ वर्षीय शाहिव हुैसनको रहेको प्रहरीले जनाएको छ।
उनी भारतको उत्तर प्रदेश राज्यमा पर्ने जयन्तीपुर रोड अलि मस्जिद मुरादावादमा रहेको खुलेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक (एसपी) तारादेवी थापाले हुसैन भक्तपुर नगरपालिका–१ इटापाको स्थित दुवाल मेटल कारखानामा पित्तलको भाडा बनाउने काम गर्दै आएको खुलेको बताइन्।
उनको हत्या साथीहरू सलमान खान र सानु अन्सारीले गरेको खुल्न आएको एसपी थापाले बताएकी छिन्।
“मृतकसँगै काम गर्ने सलमान खान र सानु अन्सारी भन्ने व्यक्तिहरूलाई शंकित रूपमा नियन्त्रणमा लिइ प्रारम्भिक अनुसन्धान गर्दै जाँदा शंकित भएको पाइएको र निजहरूको कोठामा खानतलासी गर्दा रगत लागेको लुगा र जुत्ता फेला परेको छ,” एसपी थापाले देखापढीसँग बताइन्।
उनका अनुसार हुसैनको हत्याको कारण ‘गर्लफ्रेण्ड’ को विषयमा भएको विवाद हो। शनिबार उनीहरू तीन जना सँगै बसेर मादकपदार्थ सेवन गरी अन्दाजी ९ बजेतिर कारखाना फर्किने क्रममा नरकट घारीमा पुगेपछि सानु अन्सारीको ‘गर्लफ्रेण्ड’ को विषयमा हुसैनसँग विवाद भएको प्रहरीले जनाएको छ।
विवादले अन्ततः झगडाको रूप लिएको र सो क्रममा सानु र सलमान मिलेर हुसैनलाई ढुङ्गाले अनुहार र टाउकोमा प्रहार गरी हत्या गरेको सोधपुछका क्रममा भनेको एसपी थापाले बताइन्।
प्रहरीले मृतक हुसैसनको लास तथा घटनास्थल प्रकृति मुचुल्का तयार गरेर भक्तपुर अस्पताल पठाएको छ।
नरकटघारी खोल्सामा मानिस मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ परिसर प्रमुख थापाको कमाण्डमा १५ जनाको टोली खटिएएका थिए।
घटनाको अनुसन्धान महानगरीय अपराध महाशाखा, तालिम प्राप्त कुकुर र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले अनुसन्धान गरेको हो।
पक्राउ परेका अन्सारी भारतको उत्तर प्रदेश मुरादाबाद कुन्दरका र खान उत्तर प्रदेशकै मुरादावाद मोहलपुरका हुन्।