काठमाडौं । युएइमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ ।
बिहीबार राति सम्पन्न खेलमा चेन्नइले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो । चेन्नइसँग पराजित भएसँगै कोलकाताको प्लेअफमा पुग्ने सम्भावना कमजोर बनेको छ ।
१ सय ७३ रनको लक्ष्य पछ्याएको चेन्नइले अन्तिम बलमा पुरा गर्यो । चेन्नइको जितमा रितुराज गयाकवाड नायक बने । उनले ५३ बलमा २ छक्का र ६ चौकाको मद्तमा ७२ रन जोड्दै टोलीको स्कोर १ सय ४० रनसम्म पुर्याए । यस्तै, अम्बाती रायुडुले ३८ तथा सेन वाट्सनले १४ रन बनाए भने रविन्द्र जडेजा र साम कुरानले अटआउट ३१ र १३ रनको योगदान दिए ।
जितका लागि १२ बलमा ३० रन चाँहिएको अवस्थामा रविन्द्र जडेजाले १९औं ओभरको चौथो, पाँचौ र छैटौं बलमा ४,६ र ४ रन प्रहार गर्दै जित नजिक ल्याइ पुर्याए । यस्तै अन्तिम ओभरको दोस्रो साम करनले एक रन २ तथा तेस्रो बलमा एक रन लिँदै जडेजलाई स्ट्राइक दिए । जडेजाले चौथो बललाई खेल्न सकेन भने पाँचौं बलमा छक्का हिर्काउँदै स्कोर बराबरीमा ल्याए । यस्तै अन्तिम बलमा पुनः छक्का प्रहार गरेपछि ६ विकेटको सहज जित हासिल गर्यो ।
यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो ।
कोलकाताका लागि नितिश राना र शुभमन गिलले राम्रो सुरुवात दिलाएका थिए । उनीहरुले पहिलो विकेटका लागि ५३ रनको अर्धशतकीय साझेदारी गरे । रानाले ६१ बदमा ४ छक्का र १० चौकाको मद्धतमा सर्वाधिक ८७ रन बनाए । यसैगरी, शुभमन गिलले २६, राहुल त्रिपाठीले नटआउट २१ ,कप्तान इयान मोर्गानले १५, रिन्कु सिंहले ११ तथा सुनिल नारायनले ७ रन जोडे ।
चेन्नइसँग पराजित भएको कोलकाताको प्लेअफमा पुग्ने सम्भावना न्यून बनेको छ । यदि कोलकाताले अन्तिम खेलमा राजस्थान रोयल्सलाई पराजित गरेमा पनि बाँकि टोलीको नतिजालाई कुर्नुपर्ने हुन्छ ।
१३ खेलबाट १२ अंक जोडेको कोलकाता पाँचौं स्थानमा यथावत रहेको छ भने पुछारमा रहेको चेन्नइको पनि १० अंक भएको छ ।