काठमाडौं । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदराबाद विजयी भएको छ ।
मंगलबार राति सम्पन्न आइपिएलको ५६औं खेलमा हैदराबादले मुम्बइ इन्डियन्सलाई १० विकेटले पराजित गरेको हो । जितसँगै हैदराबाद प्लेअफमा पुग्ने चौथो टोली बन्दा कोलकाता नाइट राइडर्स प्रतियोगिताको लिग चरणबाटै बाहिरियो ।
१ सय ५० रनमा मध्यम रनको लक्ष्य पछ्याएको हैदराबादले १७।१ ओभरमा विना विकेटको क्षतिमा पुरा गर्यो । ऋद्धिमान साह र डेविड वार्नरले १ सय ५१ साझेदारी गर्दै टोलीलाई दश विकेटको विशाल जित दिलाए । वार्नरले ५८ बलमा ८५ तथा साहले ४५ बलमा ५८ रनको योगदान दिए ।
यसअघि, शारजाह क्रिकेट स्टेडियमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बइले १ सय ४९ रन बनाएको थियो । चोटका कारण बेन्चमा रहेका कप्तान रोहित शर्मा हैदराबादविरूद्धको खेलमा पुनरागमन जनाएपनि उनले उल्लेखनीय योगदान भने दिन सकेनन् । उनी ७ बल खेल्दै मात्र ४ रनमा आउट भए ।
मुम्बइका किरोन पोलार्ड, सूर्यकुमार यादव, इशान किशन र क्वुइन्टन डि कक बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेन । पोलार्डले ४१, यादवले ३६, किशनले ३३, डि ककले २५ तथा रन बनाए ।
हैदराबादका सन्दीप शर्माले ३, शाहबाज नदीमले र ज्यासन होल्डरले समान २(२ तथा राशिद खानले एक विकेट लिए ।
आइपिएल २०२०मा प्लेअफमा पुग्ने चार टोलीको टुंगो लागेका छ । अंक तालिकामा मुम्बइ १८, दिल्ली १६ अंकसहित पहिलो र दोस्रो स्थानमा रह्यो भने हैदराबाद, बेङ्गलोर र कोलकाताको समान १४ अंक भएपनि रनरेटका आधारमा हैदराबाद र बेङ्गलोर अघि रहँदै प्लेअफमा पुग्यो भने कोलकाता प्रतियोगिताबाट बाहिरिएको छ ।
क्वालिफायरमा मुम्बइ र दिल्लीले बिहीबार दुबइ अन्तर्राष्ट्रिय स्टेडियममा खेल्नेछ भने एलिमिनेटरमा हैदराबाद र बेङ्गलोरले शुत्रबार अबुधाबीस्थित शेख जायद स्टेडियममा खेल्नेछ ।