काठमाडौं । संयुक्त अरब इमिरेट्स ९युएइ० मा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत डिफेन्डिङ च्याम्पियन मुम्बइ इन्डियन्स फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति सम्पन्न भएको पहिलो क्वालिफायरमा मुम्बइले दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गरेको हो ।
२ सय १ रनको विशाल लक्ष्य पाएको दिल्लीले १ सय ४३ रन मात्र बनाउन सक्यो । खराब सुरूवात गरेको दिल्लीका तीन जना खेलाडी शून्य रनमा आउट भए । पृथ्वी शाँ, शिखर धवन र अजिङ्क्य रहाने शून्य रनको स्थितिमा आउट भएका थिए ।
निरन्तरको अन्तरालमा विकेट गुमाएको दिल्लीका मर्कूस स्टोइनिसले ६४, अक्षर पटेलले ४२, कगिसो रबडाले १५ तथा श्रेयास आयरले १२ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेन ।
दिल्लीलाई कम स्कोरमा रोक्ने क्रममा जसप्रीत बुम्राहले ४, ट्रन्ट बोल्टले २ तथा क्रनाल पाण्ड्या र किरोन पोलार्डले एक(एक विकेट लिए ।
यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङमा उत्रिएको मुम्बइले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २ सय रन बनाएको थियो । चोटमुक्त भइ फर्किएका मुम्बइका कप्तान रोहित शर्मा आजको खेलमा पनि फ्लप रहे । उनी दिल्लीका स्पिनर रविचन्द्रन आश्विनको पहिलो बलमा नै एलबिडब्ल्यु धरापमा परे ।
दोस्रो विकेटका लागि सूर्यकुमार यादवसँग ६२ रनको अर्धशतकीय साझेदारी गरेका अर्का ओपनर क्वुइन्टन डि कक पनि आश्विनको बलमा शिखर धवनद्वारा क्याच आउट भए । उनले आउट हुन अघि ४० रन बनाएका थिए । यस्तै डि ककले मुम्बइबाट आइपिएलमा एक हजार रन पुरा गरेका छन् ।
यसैगरी, यादवले ३८ बलमा २ छक्का र ६ चौकाको मद्धतमा ५१ रन बनाए । यादवको यो जारी आइपिएलमा तेस्रो अर्धशतक हो । यस्तै, क्रुणाल पाण्ड्याले १३ रन बनाए भने किरोन पोलार्ड शून्य रनमा आउट भए ।
मुम्बइका इशान किशन र हार्दिक पाण्ड्याले मध्यक्रममा आक्रामक पारी खेलेपछि मुम्बइले विशाल योगफल बनाएको हो । उनीहरूले छैटौं विकेटका लागि २१ बलमा ६० रनको साझेदारी गरे । किशनले ३० बलमा ५५ तथा पाण्ड्याले १४ बलमा ३७ रनको अविजित पारी खेले ।
दिल्लीका रविचन्द्रन आश्विनले ३ तथा एनरिच नोर्ट्जे र मर्कूस स्टोइनिसले समान एक(एक विकेट लिए ।
जितसँगै मुम्बइ छैटौं पटक आइपिएलको फाइनलमा प्रवेश गरेको छ । यसअघि मुम्बइ २०१०, २०१३, २०१५, २०१७ र २०१९ फाइनलमा पुगेको थियो भने २०१० मा बाहेक बाँकी सिजनमा च्याम्पयन बनेका छन् ।
पराजित दिल्लीले शुक्रबार हैदराबाद र बेङ्गलोरबीचको विजेतासँग दोस्रो क्वालिफायरमा फाइनल प्रवेशका लागि अबुधाबीमा आइतबार खेल्नेछ ।