काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएइ) मा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि डिफेन्डिङ च्याम्पियन मुम्बइ इन्डियन्सले जितेको छ । आइपिएलमा पाँचौं पटक च्याम्पियन बन्ने क्रममा मुम्बइले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्यो ।
मंगलबार राति सम्पन्न आइपिएलको खेलमा दिल्लीले दिएको सय ५७ रनको लक्ष्य १८।४ ओभरमा पुरा गर्दै उपाधिमा पाँचौ पटक कब्जा जमाएको हो । मुम्बइको जितमा कप्तान रोहित शर्माले ६८ रनको योगदान दिए । यस्तै, क्वुइन्टोन डि ककले २०, सूर्यकुमार यादवले १९ रन बनाए । यस्तै, इशन किशनले अविजित ३३ तथा किरोन पोलार्डले ९ रनको पारी खेले ।
यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो ।
खराब सुरुवात गरेको दिल्लीका ऋषभ पन्त र कप्तान श्रेयास आयरले चौथो विकेटका लागि ९६ रनको साझेदारी गरेपछि टोलीले सम्मानजनक योगफल बनाएको हो । ३८ बलमा २ छक्का र ४ चौकासहित ५६ रन बनाएका पन्त नाथान कोल्टर नीलको बलमा हार्दिक पाण्ड्याको हातमा क्याच आउट भए । यस्तै आयरले नटआउट ६५ रनको योगदान दिए । ५० बल खेलेका उनले २ छक्का र ४ चौका प्रहार गरेका थिए ।
अघिल्लो खेलमा राम्रो खेलेका मर्कूस स्टोइनिस, शिखर धवन र अजिङ्क्य रहाने सस्तैमा आउट भए । स्टोइनिस शून्य रनमा आउट हुँदा धवनले १५ तथा रहानेले दुई रन जोडे । यस्तै, अक्षर पटेलले ९, शिम्रोन हिटमेयरले ५ रन बनाए ।
मुम्बइका ट्रेन्ट बोल्टले ३, नाथान कोल्टर नीलले २ तथा जयन्त यादवले एक विकेट हात पारे । यसअघि आइपिएलमा पाँचौं पटक फाइनल खेलेको मुम्बइले चार पटक उपाधि जितेको थियो भने एक पटक मात्र उपविजेता बनेको थियो । मुम्बइले २०१० मा चेन्नइसँग पराजित हुँदै उपाधि जित्न सकेन भने बाँकी सबै चार वटा फाइनलमा विपक्षीलाई पराजित गर्दै च्याम्पियन बनेको छ । २०१३, २०१५, २०१७ र २०१९ उपाधि उचालेको थियो । दिल्ली भने आइपिएलको फाइनलमा पुग्ने सबैभन्दा पछिल्लो टोली हो ।
विजेता मुम्बइ इन्डयन्सले ट्रफीसँगै नगद १० करोड (भारतीय रुपैयाँ) हात पार्यो भने पराजित दिल्लीले ६.२५ करोड (भारतीय रुपैयाँ) मा चित्त बुझाउन बाध्य भयो । यस्तै, प्लेअफमा पुग्ने दुई (सनराइजर्स हैदराबाद र रोयल च्यालेञ्जर्स बेङ्गलोर) ले ४.३७५ करोड (भारतीय रुपैयाँ) पाएको छ ।
यसैगरी, पर्पल क्याप विजेता कगिसो रबडा ९दिल्ली क्यापिटल्स(२९ विकेट० र ओरेन्ज क्याप विजेता लोकेश राहुल ९किङ्स इलावेन पञ्जाब(६७० रन० ले समान १०(१० लाख हात पारे ।