कार्तिक २०, काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठकको मिति सरेको छ ।
यसअघि कंग्रेस निर्धारण गरेको मितिमा महासमिति बैठक नहुने भएपछि अब आगामी मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म बस्ने भएको छ ।
मंगलबार (आज) पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महासमिति बैठकको नयाँ मिति तय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
यसअघि कांग्रेस महासमितिको बैठक आगामी मंसिर ५ देखि ९ सम्म बस्ने निर्णय गरिएको थियो ।
तिहार, छठलगायतका चाडपर्वहरू संघारमा आएकोले महासमिति बैठकको मिति सारिएको कांग्रेस नेता रमेश लेखकले बताए ।
बैठकमा कांग्रेसले मानवअधिकारवादी नेता पदमरत्न तुलाधरको निधनप्रति शोक व्यक्तm गरेको छ । यसैगरी सोमबार (हिजो) कर्णाली प्रदेशको डोल्पामा जीप दुर्घटनामा परी निधन भएकाहरु प्रति पनि शोक प्रकट गरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
आज बसेको कंग्रेस बैठकले पार्टीको लेखा परीक्षण समितिको संयोजकमा श्यामकुमार घिमिरेलाई मनोनयन गरेको छ ।
गच्छदार उपसभापति
कंग्रेस केन्द्रिय कार्यालय सानेपामा बसेको कंग्रेस केन्द्रिय समितिको मंगलबार बसेको बैठकले लोकतान्त्रिक फोरमबाट एकता भएर आएका विजयकुमार गच्छदारलाई पार्टीको उपसभापतिमा मनोनित गरेको छ । बैठकले गच्छदारलार्इ उपसभापतिमा मनोनित गर्दै तत्कालीन लोकतान्त्रिक फोरम नेपाल र कांग्रेस औपचारिक रूपमा एकता भएको घोषणा गरेको छ ।
कांग्रेस सभापति देउवाले महाधिवेशन सकिएको लामो समय बितिसक्दा पनि पदाधिकारीलाई पूर्णता नदिएको आरोप खेपिरहेका बेला गच्छदारलाई उपसभापति बनाएका हुन् ।
चुनावको मुखमा लोकतान्त्रिक फोरमलाई आफ्नो मातृपार्टी नेपाल किांग्रेसमा मिसाए पनि गच्छदार अहिलेसम्म जिम्मेवारी विहीन थिए ।
पार्टी एकीकरणका बेला सभापति शेरबहादुर देउवाले गच्छदारलाई उपसभापति बनाउने आश्वासन दिएको चर्चा चलेको थियो । यसवीचमा खुमबहादुर खड्का पनि उपसभापतिका दाबेदार थिए । यसैवीच गत चैत्रमा खड्काको निधन भएपछि देउवाले गच्छदारलाई उपसभापति बनाउन सहज भएको कांग्रेस नेताहरु बताउँछन् ।
पार्टीले गच्छदारलाई ढीलो गरी उपसभापतिको जिम्मेवारी दिए पनि लोकतान्त्रिक फोरमबाट कांग्रेसमा प्रवेश गरेका धेरै नेता कार्यकर्ताहरु अहिलेसम्म जिम्मेवारीविहीन बनेको टिप्पणी गच्छादनरले सभापति देउवासँग गर्दै आएका थिए ।
यसैगरी फोरम लोकतान्त्रीकसँग जिल्लागत रूपमा पार्टी संगठन र भातृ संगठनको एकताका लागि पार्टी उपसभापति विमलेन्द्र निधिको संयोकत्वमा समिति गठन गरिएको छ । समितिले आगामी कार्य समिति बैठकमा पार्टी एकतासम्बन्धी विधि तय गरेर प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएकाो छ ।
तर गच्छदारलाई उपसभापति बनाइएकोमा रामचन्द्र पौडेल समूहले भने असन्तुष्टि प्रकट गरेको छ । गच्छदारको नियुक्ति विधि र प्रक्रिया मिचेर गरिएको पौडेल समूहको आरोप लगाएको छ ।