मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्ल्याएर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसमुहले अघि बढ्नु पर्ने निष्कर्ष जिल्लामा आयोजित एक कार्यकर्ता भेलाले निस्कर्ष निकालेको छ ।
सत्तारूढ नेकपाभित्र आन्तरिक विवाद चुलिँदै गएका बेला जिल्लाको इटहरीमा आयोजना गरिएको कार्यकर्ता भेलाले यस्तो निचोड ािनकालेको हो ।
इटहरीको एक होटलमा मोरङ जिल्लाभरिका प्रदेश कमिटी सदस्यसँगै जिल्लाका अगुवा नेता सहभागी भेलाले अध्यक्ष एवं प्रधानमन्त्री ओली असहिष्णु बन्दै गएको र फरक मत राख्नेप्रति अनुदार भएकाले अब मिलेर जान नसक्ने निचोड निकालेको छ ।
भेलाले ओली पक्षलाई कित्ताकाट गरेरै अघि बढ्नुपर्ने र कुनै हालतमा उनीसँग मिलेर जान नसकिने निष्कर्ष निकालेको जानकारी सहभागी एक नेताले दिए । भेलामा ओली पक्षविरुद्ध पूर्वएमालेका नेता आक्रामक ढंगले प्रस्तुत भएका थिए । पूर्वमाओवादीका नेताहरूले भने मिल्न सकिन्छ भने त्यहीअनुसार अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
‘पूर्वएमालेका नेताहरू आक्रामक भएर प्रस्तुत भए र अब ओली पक्षसँग मिलेर जानै नसक्ने निष्कर्ष निकाले,’ भेलामा सहभागी पूर्वमाओवादी पक्षका एक नेताले भने, ‘पहिलो चरणमा प्रदेश किमिटी सदस्य बसेर भेला भए पनि अब दोस्रो चरणमा तल्लो तहसम्म भेला र प्रशिक्षण गर्ने टुंगो लागेको छ ।’
भेलाले मोरङ जिल्लामा ओली पक्षका भन्दा कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल पक्षका कार्यकर्ता बढी रहेको निष्कर्ष निकालेको छ । ‘भेलामा दाहाल–नेपाल पक्षीय नेता–कार्यकर्ताको बहुमत रहेको निष्कर्ष निकाल्यौं,’ अर्का सहभागी नेताले भने । भेलाले अब १३ गतेपछि प्रदेश १ का मन्त्री, सभासद् र स्थानीय तहका प्रतिनिधिको गुट भेला तथा प्रशिक्षण तय गर्ने निर्णय गरेको छ ।
नेकपा मोरङ जिल्ला सचिव गणेश उप्रेतीले आफू जिल्ला सहइन्चार्ज महेश रेग्मी र गोपी आछामीले बोलाएकाले भेलामा गएको प्रतिक्रिया दिए । उनले भेलामा छलफल भएका केही विषयबारे खुलाउन चाहेनन् । ‘पार्टीलाई विधि र प्रक्रिया मिलाएर अघि बढाउनुपर्छ तर फुटाउनुहुँदैन भनेर सुझाव दिएँ,’ उनले भने । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।