काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई आज सार्वजनिक गरिने भएको छ ।
भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले आज दिउसो २ बजे सगरमाथाको नयाँ उचाई सार्वजनिक गरिने बताइन् । नापी विभागको आफ्नै जनशक्ति प्रयोग गरेर विभागकै प्रयोगशालामा फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्याङ्कहरु प्रशोधन गरि सगरमाथाको उचाई सम्बन्धी पछिल्लो परिणाम तयार गरेको हो । उचाइ मापन कार्यक्रमको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने मन्त्री अर्यालले बताइन् ।
सगरमाथाको हालको उचाई मापनमा योगदान पु¥याउने व्यक्तिहरुलाई कार्यक्रममा सम्मान गरिने पनि जनाइएको छ ।
सरकारले आफनै साधन स्रोतमा उचाइ मापन
नेपाल सरकारको साधन–स्रोतमा पहिलो पटक सगरमाथाको उचाइ मापन गरिएको हो । आधुनिक तथा परम्परागत दुवै विधि अवलम्बन गरी सगरमाथाको उचाइ मापन गरिएको हो । नेपालले आधिकारिक रूपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको हो । नेपालले अहिलेसम्म यसलाई आधिकारिक रूपमा मान्यता दिएको छ ।
त्यसैगरी सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेका थिए । सबैको मापन फरक फरक निस्किएको थियो । अमेरिकाको मापनमा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले गरेको मापनमा आठ हजार ८४४ मिटर थियो । चीनले गरेको मापनमा हिउँलाई घटाएर चट्टान भागको मात्र उचाइ लिइएको थियो । यसपटक हिउँ सतहसहित सगरमाथाको मापन गरिएको हो ।
वि।स। २०७२ को भूकम्पपछि नापी विभागले गरेको सर्वेमा काठमाडौंका विभिन्न ठाउँको उचाइमा परिवर्तन आएको थियो । यसलाई आधार मानेर धेरैले सगरमाथाको उचाइमा परिवर्तन आएको हुन सक्ने अनुमान गरिएको छ । त्यसपछि भारतले सगरमाथाको उचाइ नाप्न खोजेको थियो तर नेपालले अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञहरूको सुझावसमेत लिएर आफैँले सगरमाथाको उचाइ मापन गर्ने घोषणासहित काम अगाडि बढाएको हो ।
गत वर्ष डिसेम्बरमा नै उचाइ सार्वजनिक गर्ने गरी समय तोकिएको थियो । तोकिएको समयमा काम हुन नसक्दा करिब एक वर्ष ढिलो हुन गएको हो । मन्त्रालयका प्रवक्ता जनकराज जोशीले तथ्याङ्क प्रशोधनमा समय बढी लागेकाले केही ढिलो भएको जानकारी दिए ।