काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आफूलाई न्याय दिने विश्वास व्यक्त गरेका छन्।
१३३औं बीपी जयन्तीको अवसरमा बुधबार कांग्रेस भक्तपुरले आयोजना गरेको विचार गोष्ठीमा देउवाले पुनरावलोकनका लागि निस्सा दिएको सर्वोच्च अदालतले रुख चिह्न, चारतारे झण्डा आफूले पाउने बताए।
‘सर्वोच्च अदालतमा यिनीहरूले जतिसुकै धाएता पनि सर्वोच्च अदालतको मलाई विश्वास छ, जसरी निष्पक्ष रुपमा हामीलाई निस्सा दिएको छ, त्यस्तै रुख चिह्न, चारतारे झण्डा नेपाली कांग्रेसको हामीले पाउने छौं भन्ने विश्वास लिएको छु,’ देउवाले थपे, ‘मलाई विश्वास छ, जतिसुकै जे गरे पनि सर्वोच्चले न्याय दिने छ भन्ने विश्वास छ।’
सर्वोच्चबाट निस्सा पाएसँगै आधाभन्दा बढी विजय भइसकेको देउवाको दाबी छ। ‘पुनरावलोकनले निस्सा दियो हामीलाई। निस्सा दिएपछि हाम्रो आधाभन्दा बढी विजय भइसक्यो,’ देउवाले भने।
अहिले गगन थापाले पक्षले आफ्नो पक्षमा पार्न अनेक प्रयास गरिरहेको देउवाको भनाइ थियो। ‘अब अहिले पनि के गरेर हुन्छ, कसलाई भनेर हुन्छ, यसलाई कुनै पनि हालतमा पुनरावलोकनबाट नेपाली कांग्रेसको आधिकारिकता हामीले पाउनुपर्ने कुरा रोक्ने कोसिस भइरहेको छ। तर, हामी कुनै हालतमा मान्दैनौं,’ उनले भने
अदालतले पञ्चायतकालदेखि नै आफूलाई जेलबाट छुटाएको भन्दै न्याय पाउने विशवास व्यक्त गरे। ‘राजा ज्ञानेन्द्रले जेल हाल्दाखेरि अदालतबाट मैले आशा मारिसकेको थिएँ। मैले मेरो श्रीमतीलाई बोलाएर भनेँ( हेर, सर्वोच्च पनि राजासँग डराउँछ होला। छोरालाई पढाउनू । मलाई १०-१२ वर्ष हाले हाल्छ भनेँ,’ देउवाले विगत स्मरण गर्दै भने, ‘तर, सर्वोच्च अदालतले राजा ज्ञानेन्द्रको खिलापमा उसैबेला मलाई बचाएको हो। त्यसकारण सर्वोच्च अदालतप्रति मलाई विश्वास छ।’
देउवाले विशेष अधिवेशनको पनि चर्चा गरे। विगतमा पनि विशेष महाधिवेशन बोलाइएको प्रसंग निकाले।
‘विधानमा विशेष अधिवेशन बोलाउने प्रावधान छ। विशेष अधिवेशन पार्टीले बोलाउने हो। सुवर्ण शमशेर पार्टी सभापति हुँदाखेरि विशेष अधिवेशन बोलाइएको हो पहिले। बीपी कोइराला पनि हुनुहुन्थ्यो। सबै एकता भएर, एक भएर बोलाइएको हो,’ देउवाले भने, ‘त्यसमा पूरा सनाखत गराएर, को हो(को होइन भनेर प्रतिनिधि बोलाइएको थियो।’
उनले गगन थापाले बोलाएको विषयमा पनि चर्चा गरे। तत्कालीन महामन्त्री गगन थापाले प्रतिनिधिको सनाखत नगरी विशेष अधिवेशन बोलाएको उनको भनाइ थियो।
‘गगन थापाजीले विशेष अधिवेशन बोलाउनुपर्यो भन्नुभयो। मैले विशेष अधिवेशन बोलाउन पाउँछ, अधिकार छ पार्टीमा, त्यसका लागि को-को भाग लिने हो उसको सनाखत हुनुपर्यो। कुन जिल्लाको, कुन क्षेत्रको, कुन गाउँपालिकाको हो, त्यसको नाम सब चाहियो, सनाखत हुनपर्यो,’ देउवाले थपे, ‘बिना सनाखत गर्न पाइन्छरु अहिले पार्टी सभापति म छु, मलाई थाहै छैन। तिमी बोलाउन पाउँछौंरु मलाई थाहै छैन बोलाइ दिने भन्दा हुन्छ दाइ, विचार गर्छु दाइ भनेर अचानक बोलाइदिए।’
खल्तीबाट नाम राखेर थापाले विशेष अधिवेशन बालाएको देउवाको आरोप छ। थापाले बोलापछि आफूहरूले निर्वाचन आयोगमा मुद्दा हाल्दा निर्वाचन आयोगका तत्कालीन कार्यवहाक प्रमुखले ज्यानको खतरा भएकाले निर्णय लिएको भनेको देउवाको दाबी छ।
‘बोलेको छ है हेर्नुस् त्यहाँ। ज्यानको खतरा भएर गर्नुपर्यो भनेको उसले बोलेको छ। मैले भनेको होइन, सबैले सुनेको कुरो हो यो,’ देउवाले थपे, ‘भन्दाखेरि ज्यानको खतरा, त्यत्रो त्रास। सिधा डरायो त्यो निर्वाचन आयोगको प्रमुख।’
त्यसपछि आफूहरूले सर्वोच्च अदालतमा मुद्दा हुँदा चुनाव भइसक्यो के गर्ने भनेको देउवाको भनाइ छ। ‘पहिले भएको भए हुन्थ्यो भन्यो। अति भयो नि भनेपछि पुनरावलोकनमा गयौं,’ उनले भने।
प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३ २२:१३