काठमाडौं । लामो समय बोली बाराबारको अवस्था पुगेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच आज भेटवार्ता भएको छ ।
अध्यक्षद्धय बीचको विवादले पार्टी एकता गम्भीर मोडमा पुगेका बेला कार्यकारी अध्यक्ष प्रचण्डले आफूहरु बीच सहकार्यको प्रस्ताव राखेका हुन् ।
अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच करिब डेढ घण्टाको भेटवार्तामा कार्यकारी अध्यक्ष प्रचण्डले यस्तो प्रस्ताव राखेको वालुवाटार स्रोतले जनाएको छ ।
आफ्नो सरकारी निवास बालुवाटारमा बुधबार बिहान भएको भेटवार्तामा ओलीले दुई अध्यक्ष बीच मिल्दा पार्टीमा देखिएको संकट हल हुने बताएका हुन् । उच्च स्रोतका अनुसार, ओलीले प्रचण्डसँग मिलेर जान आफू तयार रहेको बताएका थिए । तर, बरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरुसँग बनाइएको गठबन्धन तोड्नुपर्ने उनको शर्त छ । ‘तपाईं माधव नेपालको पछि लाग्दै हुनुहुन्छ । तपाईंले माधव नेपाललाई चिन्नु भएकै छैन । हामी मिलौं’, ओलीको प्रस्ताव थियो ।
तत्कालीन एमालेको राजनीतिक घटनाक्रमबारे लामो व्याख्या गर्दै ओलीले ‘माधव नेपाल कति धोकेबाज हुन् भन्ने चिन्नु भएकै छैन । पछि थाहा पाउनुहोला’ भनेका थिए । जवाफमा प्रचण्डले भने दुई अध्यक्षबीच नभई पार्टी कमिटीबाटै निर्णय लिनुपर्ने बताएका छन् ।
‘माधव कमरेडलाई म राम्ररी चिन्छु । तपाईं जेलमा भएको बेला पनि मैले उहाँसँग सहकार्य गरेको छु’ प्रचण्डको भनाइ थियो, ‘३५ वर्ष अघि पनि हामीले पञ्चायतविरुद्ध आन्दोलनको कार्यक्रम बनाएका छौं । सँगसँगै लडेका छौं ।’
विद्यार्थी, शिक्षक र मजदुरको आन्दोलनको कार्यक्रम माधव नेपालसँगै मिलेर बनाएको प्रचण्डले संस्मरण गरेका थिए । प्रचण्डले जनयुद्ध कालदेखि शान्ति प्रक्रियासम्म एमालेको प्रमुख नेताका रुपमा संगत गरेको ओलीलाई बताएका थिए ।
पूर्वएमाले मिल्ने भन्दै माधव नेपाललाई अध्यक्ष र प्रधानमन्त्रीकै प्रस्ताव गर्दा पनि नमानेको प्रशंग ल्याउँदै प्रचण्डले ओलीलाई उल्टै सम्झाउने प्रयास गरेको स्रोतले जनायो । तर अध्यक्ष ओलीले भने ‘अझै सोच्नूस्’ भनेका छन् । मंसिर २१ मा स्थायी कमिटी बैठक भेटेपछि ओली र प्रचण्डबीच बुधबार भेटवार्ता भएको हो । त्यसअघि २५ दिनको संवादहीनता तोड्दै स्थायी कमिटी बैठक बस्नु अघिल्लो दिन मात्रै ओली र प्रचण्ड बीच छोटो समय भेटवार्ता भएको थियो । तर बुधबारको भेटवार्ता भने त्यस दिनको भन्दा लामो चल्यो । प्रधानमन्त्री एपं अध्यक्ष ओलीलाई भेट्नजानु अघि प्रचण्डले नेताहरुसँग परामर्श गरेका थिए । स्थायी कमिटी बैठक एक हप्तालाई स्थगित भएपछि ओलीले आफू निकट नेताहरुमार्फत् विशेषगरी प्रचण्डसँग संवाद र सहमतिको प्रयास गरिरहेका छन् ।
नेता नेपालसँग भने कुराकानी भएको छैन । गएको हप्ता नेपाललाई फकाउन ओली निकट नेताहरु कोटेश्वर पुगेका थिए । महासचिव विष्णुप्रसाद पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले नेता नेपाललाई भेटेर ओलीसँग सहमति गर्न आग्रह गरेका थिए । भेटवार्ता भएको छ ।
नेकपाका दुई अध्यक्षबीच आरोप प्रत्यारोप सुरु भएसँगै भेटवार्ता पातलिएको थियो । आइतबार स्थायी कमिटी बैठक बोलाएको नेकपाका दुई अध्यक्षले भेटवार्ता गर्नुलाई अर्थपूर्ण हेरिएको छ । शनिवार सचिवालयको बैठक बस्नु अघिल्लो दिन करिब २५ दिनपछि फोन सम्वाद गरेर २६ दिनमा भेटवार्ता गरेका ओली प्रचण्ड पछिल्लो समयमा कम भेटघाटमा छन् ।