नवलपुर । नवलपरासीको गैंडाकोटमा रहेको देशकै ठूलो भृकुटी कागज कारखाना बन्द भएको झण्डै एक दशक बितिसकेको छ ।
कुनै समय देशको कुल मागको झण्डै ६० प्रतिशत कागज पूरा गर्ने यो कारखाना यतिबेला खण्डहरमा परिणत भएको छ । तर बन्द भएको लामो समय बितिसक्दा समेत कारखानाका कयौं कर्मचारीले काम गर्दाको तलब पाएका छैनन् ।
कारखाना बन्द भएको यतिका वर्ष विति सक्दासम्म पनि स्थायी मजदुरहरु रकम नपाएर पीडित बनेका छन् । कारखानामा स्थायी रूपमा काम गर्दै आएका ३ सय जना कामदार कर्मचारीहरुले २०६७ मंसिरदेखिको तलबभत्ता पाएका छैनन् । गैंडाकोटमा बस्दै आउनुभएका पर्वतका होमनाथ सापकोटाले २०५३ सालदेखि कारखानामा काम थाल्नुभएको थियो । जीवनका उर्जाशिल समय भृकुटी कागज कारखानालाई सुम्पिए पनि तलब नपाउँदा सापकोटाको मन खिन्न छ ।
भृकुटी कागज कारखाना अहिले झाडीले भरिएको छ भने कारखानाका सबै संरचना जीर्ण बनेका छन् । कारखाना अस्थिपञ्जर जस्तै बनेको छ । करोडौं मूल्य पर्ने मेशिनहरू र पार्टपुर्जाहरु खिया लागेर बिग्रिएका छन् । २०७५ साल बैशाख १५ गते तत्कालिन उद्योगमन्त्री मातृकाप्रसाद यादवले उद्योगको अवलोकन गर्दै राष्ट्रियकरण गर्ने बताउनुभएको थियो । यादव समक्ष मजदुरले आफ्नो माग र गुनासो सहितको पत्र बुुझाएपनि त्यसको हालसम्म सुनुवाई भएको छैन ।
मजदुरका तर्फबाट सम्झौता गर्ने मध्येका एक गैंडाकोट ५ का वडा सदस्य हरिप्रसाद ढकाल मजदुरको समस्या सरकारको प्राथमिकतामा पर्न नसकेको बताउनुहुन्छ । २०४९ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले राज्यको दायित्व निजी क्षेत्रलाई सार्दै जाने नीति अनुरुप भृकुटी कागज कारखाना गोल्छा अर्गनाइजेसन, काभ्रा समूह र कन्क्राफ्टलाई सबै जमिन र संरचनासहित निकै थोरै मूल्यमा बेचेको थियो । तर निजिकरण पछि कारखानाको खराब दिन सुरु भयो । २०५१ साल देखि काम गर्दै आउनुभएका गैंडाकोटका रामलाल कंडेलले कारखानाबाट ८ लाख ८२ हजार लिन बाँकी छ । दैनिक ज्यालादारीमा २ वर्ष काम गरेर ०५३ सालमा स्थायी हुनुभएका बालकृष्ण ढकाल कारखाना बन्द भएको १७ महिनापछि मजदुरको हिसाब गरेर तलब दिन्छु भने पनि नदिएको बताउनुहुन्छ । मजदुरले विभिन्न चरणमा आन्दोलन गरे पनि कुनै प्रगति भएको छैन ।
भृकुटीकागज कारखानाकै भरमा कत्तिले आफ्नो परिवार पाल्दै आएका थिए । उद्योग बन्द भएर रोजीरोटी गुमेपछि कतिपयले आर्थिक स्थिति झेल्न नसकेर गलत बाटो समेत रोजे । गैंडाकोटका रेनु कुवँरले पनि भृकुटीमा झण्डै १८ वर्ष काम गर्नुभयो । तर उहाँले तलब स्वरुप एकपटक २० हजार रुपैंया पाउनुभएको थियो । बाँकी रकम कहिले पाईन्छ टुङ्गो छैन । बाँकी रहेको रकम दिने भनेर मजदुर, कर्मचारी र कारखाना व्यवस्थापन पक्षका बीचमा पटक–पटक लिखित सहमति भएपनि अहिलेसम्म व्यवस्थापन पक्षले कुनै वास्ता गरेको छैन । व्यवस्थापनले मात्रै होईन, सरकारले समेत बेवास्ता गरेको मजदुर कर्मचारीको गुनासो छ ।