काठमाडौं । सरकारको विरुद्धमा देशभर प्रर्दशन गर्न लागेको प्रतिपक्ष दल नेपाली कांग्रेसले आप्mना शिर्ष नेताहरुलाई फरक फरक जिल्ला पठाएको छ ।
भोली सोमबारका लागि तय गरेको देशव्यापी सडक प्रदर्शनको तयारी पूरा भएको जनाएको कांग्रेसले प्रर्दशनमा समर्थकलाई संवोधन गर्न नेताहरुलाई जिल्लामा पठाएको हो ।
केन्द्रीय कार्यालयबाट हुने व्यवस्थापन हामीले पूरा गरेका छौँ,’ केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने, ‘पार्टीको सम्पूर्ण शक्ति भोली आन्दोलनमा होमिन्छ ।’ आन्दोलनलाई सफल बनाउन शीर्ष नेताहरू नै विभिन्न जिल्लामा खटिएका छन् । मुख्य सचिव पौडेलका अनुसार महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यालयबाट सबै स्थानमा भएका कार्यक्रमबारे ‘मोनिटरिङ’ गर्ने छन् ।
सभापति शेरबहादुर देउवाले मकवानपुरमा आयोजित कार्यक्रमलाई र नेता रामचन्द्र पौडेलले काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने तय भएको छ । त्यस्तै उपसभापति विमलेन्द्र नीधिले भक्तपुर, महामन्त्री डा। शशांक कोइरालाले मोरङ, कोषाध्यक्ष सितादेवी यादवले ललितपुर, अर्जुननरसिंह केसीले पोखरा, डा।रामशरण महतले चितवन र प्रकाशमान सिंहले धनुषामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । बाँकी केन्द्रीय सदस्यहरू ७७ जिल्लामा कार्यक्रमका लागि पुगेका छन् ।
२०७४ को निर्वाचनमा सहज बहुमत ल्याएर ओलीले सत्ता सम्हालेपछि कांग्रेसले सरकारविरुध्द गरेको सम्भवतः यो पहिलो पटक आक्रामक आन्दोलन हो । ओली सरकारविरुध्द पछिल्ला दिनमा आलोचना बढिरहदा कांग्रेसपनि आफ्नो सम्पूर्ण शक्ति लगाएर सडकमा उत्रिएको हो ।
सरकार भ्रष्टाचारमा डुबेको, सर्वसत्तावादतर्फ अगाडि बढेकाले ठिक ठाउँमा ल्याउन सडक आन्दोलन गर्नुपर्ने बाध्यता भएको कांग्रेस नेताहरू बताउँछन् । ओली सरकार भ्रष्टाचारमा डुबेको ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको एसियन भ्रष्टाचार ब्यारोमिटरको प्रतिवेदनले देखाएको थियो । प्रतिवेदनमा प्रधानमन्त्रीको नाम नै तोकेर भ्रष्टाचारीको संरक्षण गरेको उल्लेख छ । तर, सरकारले प्रतिवेदनलाई सरकारले भने खारेज गरिदिएको छ ।
कांग्रेसले वाइडबडी जहाज खरिद, स्वास्थ्य सामाग्री खरिद, यती समूहलाई नेपाल ट्रष्टको जग्गा दिने र तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड घुस बार्गेनिङमा ओली सरकार दोषीमाथि कारबाही गर्नुको साटो संरक्षणमा लागेको आरोप कांग्रेसको छ ।
तनहुँमा पुल उदघाटन गर्न पुगेका पार्टीका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि सभापति देउवाले जारी गरेको विज्ञप्तिमा सरकार सर्वसत्तावादतर्फ अगाडि बढेको आरोप लगाएका छन् ।