काठमाडौं । बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठक सकिएको छ ।
बैठकमा संवैधानिक परिषद्का काम र विभिन्न आयोगमा नियुक्तिबारे छलफल भएको बताईन्छ । स्रोतका अनुसार बैठकमा सबै निकायका पदाधिकारीबारे छलफल भएपनि यसलाई भोलि मात्र सार्वजनिक गरिने तयारी छ ।
संवैधानिक नियुक्तिमा राजनीतिक भागबण्डा नमिल्दा १३ महिनादेखि बस्न नसकेको संवैधानिक परिषद् बैठक अध्यादेश जारी भएसँगै आज बस्न सकेको हो । बैठक सकिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलका लागि राष्ट्रपति कार्यालय शितल निवास पुगेका थिए ।
आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा भने अनुपस्थित भएका थिए । बैठकमा प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि उपस्थित थिए ।
संवैधानिक परिषद् अध्यक्ष प्रधानमन्त्री हुने संवैधानिक व्यवस्था छ । अन्य पाँच सदस्यमा प्रमुख प्रतिपक्षी दलका नेता, प्रधानन्यायाधीश, राष्ट्रियसभा अध्यक्ष, प्रतिनिधिसभाका सभामुख र उपसभामुख सदस्य छन् ।
संविधान बमोजिम संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न गठित छ सदस्यीय संवैधानिक परिषद्मा सदस्य रहने प्रतिनिधि सभाको उप-सभामुखको पद भने हाल रिक्त रहेको छ।
संवैधानिक परिषद्को बैठक बस्ने प्रावधानसहितको अध्यादेश राष्ट्रपतिबाट मंगलबारै जारी भएसँगै बसेको बैठकले महत्वपूर्ण निर्णय गर्नसक्ने अनुमान गरिएको छ ।