काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको जारी विवाद मत्थर पार्न अनेक कसरतमा लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलिे उपाध्यक्ष वामदेव गौतमलाई अध्यक्षको प्रस्ताव गर्का छन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ट नेता माधवकुमार नेपालसँगका छलफल र बैठक निष्कर्षमा नपुगेपछि प्रधानमन्त्री ओलीले उपाध्यक्ष बामदेव गौतमलाई अध्यक्ष पदको प्रस्ताव गरेपछि दोस्रो तहका नेताहरु भने यसका लागि माधव नेपालसहित पार्टीको शीर्ष नेतृत्वलाई मनाउन लागिपरेको बताइएको छ।
शुक्रबार आफ्नै निवास भैँसेपाटीमा भएको नेकपाका नेताहरुको बैठकमा उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीले आफूलाई अध्यक्ष पदका लागि प्रस्ताव गरेको जानकारी गराएका थिए।
आगामी महाधिवेशनसम्म अध्यक्ष पदमा गौतम र पुष्कमल दाहाललाई राखेर आफू भने प्रधानमन्त्रीमा रहिरहने र साथसाथै पार्टीभित्रको तीव्र असन्तुष्टि मत्थर पार्ने प्रयासस्वरुप ओलीको यो कदम आएको हो।
यसअघि पार्टीभित्र देखिएको विवाद समाधान गर्न प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई प्रधानमन्त्रीकै पद अफर गरेपछि उनी ओलीतिर ढल्किएका थिए।
प्रधानमन्त्री ओलीबाट यही प्रस्ताव पाएका गौतम शुक्रबार पेरिसडाँडामा आयोजित दाहाल-नेपालको गुट भेलामा समेत उपस्थित भएनन्।
गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले उपाध्यक्ष गौतम अब गुट भेलाहरुमा सहभागी नहुने र पार्टीका औपचारिक बैठकहरुमा मात्र सहभागी हुने बताएका थिए।
गौतम अध्यक्ष पदमा आउँदा अध्यक्ष पदका अर्का दाबेदार माधवकुमार नेपाल भने असन्तुष्ट हुने भएपछि दोस्रो तहका नेताहरु शनिबार दिनभरिजसो नेपाललाई यसबाट राजी गराउन प्रयासरत रहेको बुझिएको छ।
शनिबार अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगेका प्रधानमन्त्री ओली र दाहाल दुवैलाई उपाध्यक्ष गौतमले त्यागको भावनाले अघि बढ्नुपर्ने बताएको नेकपा स्रोतले जानकारी दिएको छ। यसअघि दाहाल(नेपाल पक्षमा रहेका गौतमले अचानक मध्यमार्गको बाटो लिएको बुझिएको छ। ओली खुमलटार पुगेको केहीबेरमै त्यहाँ पुगेका उपाध्यक्ष गौतमसहित तीनजना नेताहरुबीच छलफल भएको थियो।