काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’आन्तरिक छलफलमा जुटेका छन्।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपश्चात राजनीतिक घटनाक्रमबाट छलफल गर्न सोमबार बिहान थापानिकट नेताहरु उनको निवासमा पुगेका हुन्।
थापालाई भेट्न देव गुरुङ, पम्फा भुसाल, हितमान शाक्य, मनोज थापा, यशोधा सुवेदी, सूर्यप्रकाश सुवेदी, लेखनाथ न्यौपाने, सावित्रीकुमार काप्ले, अमृता थापा,श्रीराम ढकाल, मायाप्रसाद शर्मा, दिलिपकुमार प्रजापति,सुरेश आलेमगर, रामदीप आचार्य, महेश्वर दाहाल, युवराज भट्टराईसहित १६ जना उपत्यकाका उपलब्ध स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्य पुगेका छन्।
नेकपामा थापानिकट ३४ जना केन्द्रीय सदस्य भएपनि छन् तर ओलीको लाइनमा नजाने अभिव्यक्ति दिदै आएका छन्। उनीहरुले ओलीको कदम प्रतिगामी हुने भएकाले नमिल्न आग्रह गरेका छन्। उनीहरुले प्रधानमन्त्री ओलीसँग मिल्नु आत्मघाति हुने भएकाले निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीले अहिले बालुवाटारमा आफूनिकट नेताको भेलामा बोलाएपनि थापा अहिले आफूनिकट नेताहरुसँग छलफलमा व्यस्त रहेका छन्।
संसद विघटन गरेकोमा आपत्ति जनाउँदै आइतबार नै दाहाल-नेपाल समूहका कृषिमन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, उर्जामन्त्री वर्षमान पुन, खानेपानी मन्त्री विना मगर, श्रम तथा रोजगार मन्त्री रामेश्वर रायले आइतबार अपराह्न संयुक्त रुपमा राजीनामा दिएका थिए। तर गृहमन्त्रीले राजीनामा दिएका छैनन्।