काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को माधवकुमार नेपाल र पुष्पकमल दाहाल समूहले केपी शर्मा ओलीलाई पार्टीबाट कारबाही गरेको पत्र निर्वाचन आयोगमा दर्ता गराएका छन्।
बहुमत केन्द्रीय सदस्य सहभागी मंगलबारको बैठकले अध्यक्ष ओलीलाई कारबाही गर्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो। यही जानकारीसहितको पत्र नेताहरूले आयोगमा दर्ता गराएका हुन्।
ओलीलाई कारबाही गरेको पत्र लिएर नेकपाका नेताहरू सुरेन्द्र पाण्डे, लिलामणि पोखरेल र केन्द्रीय सदस्य समेत रहेका वरिष्ठ अधिवक्ता मुक्ति प्रधान आयोग पुगेका थिए।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले पत्रका दर्ता भइसकेको जानकारी दिए।
दाहाल–नेपाल समूहले आफूसँग बहुमत रहेका दाबी गर्दै आएको छ। नेकपा गठन हुँदा तत्कालिन एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० गरी ४४१ सदस्यीय केन्द्रीय कमिटी बनेको थियो। त्यसपछि एकता प्रक्रियाबाट आएका ५ जना केन्द्रीय कमिटीमा थपिएका थिए।
तर, राजनीतिक नियुक्ति र मृत्युजस्ता कारणले नेकपाको केन्द्रीय कमिटी संख्या हाल २३८ जनाको रहेको केन्द्रीय सदस्य निरज आचार्यले बताए। उनका अनुसार यीमध्ये मंगलबारको दाहाल–नेपाल समूहको बैठकमा ३१५ जना उपस्थित थिए।
दाहाल–नेपाल समूहले बुधबार प्रधानमन्त्री ओलीलाई दलको नेताबाट समेत हटाएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले ओलीलाई दलको नेताबाट हटाउँदै अध्यक्ष पुष्पकमल दाहाललाई चयन गरेको छ।
यता, ओली समूहले भने मंगलबार केन्द्रीय कमिटी विस्तार गर्दै त्यससम्बन्धी पत्र आयोगमा दर्ता गराएको थियो। मंगलबार बालुवाटारमा बसेको बैठकले ५५६ नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय बनाइएको थियो। जसमा १९७ जना पछि थप गर्ने बताइएको छ।
सोही बैठकले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएर प्रदीप ज्ञवालीलाई प्रवक्ता चयन गरेको थियो।