सुनकोसीको टुप्पोमा बसेर
घडीको काँटाझैँ घुमेछन् जीवनका काँटा
परिश्रमको पसिनामा कलम डुबाएर
लेख्छन् मेरा बा, जीवनभरिको मिहिनेत
आफ्नै ठेला परेका हत्केलाभरि !
यो घरको जिम्मेवारी कसले उठायो ?
कहिल्यै प्रश्न उठ्दैन
हजारौँ दुःखको जङ्घार कसले तऱ्यो ?
कसैले मतलब राख्दैन
यहाँ देशको खानी सम्झेर
श्रमजीवीहरूमाथि प्रश्न उठ्छ
अरबको तेलखानी सम्झेर
ठूला मान्छे तिर्खाले छट्पटिन्छन्
संसार देख्ने आखाँहरू !
आफ्नै बालाई बिर्सन्छन् !
कसैले सोचेजस्तो
ठूलो मान्छे होइन मेरा बा
तर, मेरो लागि सर्वश्व हो
बिहानदेखि बेलुकासम्म
घरको जिम्मेवारी सम्हालेर
हामीलाई खुसी दिने
जसरी एकै यन्त्रमा बनाइएका घडीहरूले
एउटै समय बताउन सक्दैनन्
तर, बा.. बा भएकोले
जताततै एकै समय
दिन सक्छन् सन्तानका लागि ।
इमान, जमान, इमानदार र स्वाभिमान
जीवनदर्शन बनाएर
सिङ्गो जीवनको यथार्थ चित्र
पढ्नु भो र पढाउनु भो
मेरा ‘बा’ले
जीवनको सिकाइमा
न दिनमा सुखले बाँच्नु भो
न रातमा ढुक्कले निदाउनु भो
हाम्रो लागि दिन रात भन्न नपाई
जस्तोसुकै अभावमा हरेश नखाई
जिउनुको सार्थकता बुझाउनुभो
जीवनमा सुकोमल सपना देखेर
नैतिकता, इच्छाशक्ति र आत्मविश्वासमा
डटेर लाग्नु भो
समयको पद्चाप पछ्याउँदै
साहसले जिउने रहरभरि
जिन्दगी लालीजस्तै लालित्य बनाउन
कैयौँ युग पछ्याउँदै
निरन्तर पौडिएर सङ्घर्षहरू
शिखरभरि छाएका छन् मेरा बा !
यसैले होला,
बाको नाम जीवनाथ
राखिएको रहेछ !
– सर्केगार्ड गाउँपालिका–८, हुम्ला