काठमाडौं । प्रमुख प्रतिपक्षी पार्टी नेपाली काँग्रेसले संसद विघटनको विरोधमा काठमाडौं सहित देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।
मन्त्रिपरिषदको सिफारिसमा पुस ५ गते राष्ट्रपतिले संसद विघटन गरेको विरोधमा काँग्रेसले देशभर विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गरेका छन् । सभापति शेरबहादुर देउवाले संसद् विघटन गर्ने सरकारको कदमबारे अदालतमा मुद्दा विचाराधीन रहेकाले पुनःस्थापनाको पक्ष वा विपक्षमा नबोल्ने बताए ।
भक्तपुरमा आयोजित सरकारको कदमको विरोध सभामा सभापति देउवाले काँग्रेस न्यायालयलाई मान्ने पार्टी भएको बताउँदै अदालतमा विचाराधीन मुद्दामा कुनै पनि पक्षमा नबोल्ने धारणा राख्नुभयो । अदालतमा विचाराधीन मुद्दा छ त्यसमा हामी केही बोल्ने छैनौ, अदालतलाई धम्क्याएर, तर्साएर निर्णय गराउने होइन, देउवाले भने ।
सभापति देउवाले प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने निर्णय भने असंवैधानिक र अलोकतान्त्रिक भएको बताउनुभयो । सरकारले संसद् विघटन गरेर निर्वाचन समेत घोषणा गरिसकेकाले अब कसरी जाने भन्नेबारे छिट्टै केन्द्रीय समितिको बैठकले टुंगो लगाउने पनि बताए । सरकारको कदमको विरोध गर्ने तर त्यसबारे अदालतले जस्तो निर्णय दिएपनि स्वीकार गर्ने सभापति देउवाको भनाइ थियो । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान विघटन भए पनि सर्वोच्च अदालतले मुलुकलाई अफगानिस्तान बन्नबाट जोगाउन सक्ने बताएका छन् ।
काँग्रेसले तनहुँमा गरेको विरोधपछि आयोजित कार्यक्रममा नेता पौडेलले संसद ब्युँताएर अदालतले संविधानको रक्षा गर्न सक्ने धारणा राखे । ओली सरकारले वाइडबडी काण्ड, यती, ओम्नी, गोकर्ण रिसोर्ट लगायतका ठूला भ्रष्टाचारबाट चोखिन विभिन्न आयोग गठन गरेको र ती आयोग संसदबाट उल्टिन सक्ने देखेर संसद नै भंग गरेको आरोप उनले लगाए ।