काठमाडौं । विवादित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर आफैले बनाएको संविधानको बलात्कार गरेको आरोप लगाएका छन् ।
पार्टीद्वारा मंगलबार आयोजित देशव्यापी विरोध प्रदर्शनका क्रममा काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमा हुँदै नभएको व्यवस्थालाई प्रयोग गरेर प्रतिनिधिसभा विघटनको प्रस्ताव गर्नु गलत रहेको बताए । उनले भने, ‘प्रतिनिधिसभा भङ्ग भएको छैन । भङ्ग भएको त केपी ओलीको सरकार हो ।’
उनले अगाडि भने, ‘केपी ओलीले इतिहासमा कलंकको टीका लगाएका छन्, त्यो कहिल्यै मेटिने छैन । आफैले बनाएको संविधानको बलात्कार गरेँ भनेर उनले आफैले नभनेसम्म इतिहासले र नेपाली जनताले माफी दिने छैनन् ।’
सिंगो देशले यो कदम असंवैधानिक, अलोकतान्त्रिक कदम हो भनेर भनिसकेको प्रचण्डले बताए । ‘म भरोसा गर्न चाहन्छु हाम्रो सम्मानित अदालतले सिंगो देशको यो भावनालाई सम्मान गर्नेछ,’ उनले भने, ‘सर्वोच्च अदालतले संविधानको मर्म र भावनालाई बुझ्दैन भनेर म सोच्न पनि सक्दिनँ ।’
देशभर भएको प्रदर्शन जनताले गरेको सहजीकरण हो भन्ने रुपमा बुझिदिन पनि उनले आग्रह गरे । उनले आन्दोलनको सुरुवातमात्र भएको पनि प्रस्ट पारे ।
संविधानमाथिको यो निर्मम प्रहारलाई सच्याउने कोसिस गरिएन भने भोलि आँधीहुरी आउने चेतावनी पनि उनले दिए । नेपाली जनतामा जागरण र चेतनाको नयाँ युग प्रारम्भ भएको उल्लेख गर्दै उनले ‘प्रतिगमनकारी’लाई खबरदारीसमेत गरे ।
अध्यक्ष ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओली परिवर्तनका पक्षधर होइनन् भन्ने आफूलाई थाहा भएर पनि पार्टी एकता गरेकोमा जनतामाझ क्षमायाचना गरेका छन् । उनले त्यसका बाबजुद ओलीले नै आफूले जनताको चाहनाअनुसार परिवर्तनलाई मानेको भनेर आफूसँग भनेका कारण त्यही कुरालाई विश्वास गरेर पार्टी एकतामा लागेको पनि प्रस्ट पारे ।
प्रचण्डले संविधान बनाउन अहिलेसम्म विश्वले मानेको सबैभन्दा लोकतान्त्रिक विधिमार्फत नेपालमा संविधान निर्माण भएको स्मरण गराए । ७० वर्ष लामो संघर्षको परिणामस्वरुप संविधानसभाबाट संविधान निर्माण भएको उनको भनाइ थियो ।