नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधब समूहले प्रतिनिधिसभा विघटनको विरोधमा आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
पार्टीका नेता–कार्यकर्ताले काठमाडैं उपत्यकाका विभिन्न ९ स्थानमा जम्मा भएर जुलुस निकालेका थिए । बिरोधसभामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षमा केपी ओली प्रवृत्तिलाई सच्याउन नसकेको बताउनभयो । अध्यक्ष प्रचण्डले आफूहरुले विभिन्न उपाय लगाउँदा पनि ओलीलाई सच्याउन नसकिएको बताउनुभयो । तीन वर्षमा केपी ओलीलाई तह लगाउन सकेनौं । हाम्रा पनि केही कमजोरी होलान्, उहाँले भन्नुभयो, सम्झाइ, बुझाइ, फकाइ गरेँ, कतिपय कुरा मान्दिएर पार्टी र देश बचाउन सकिन्छ कि भनेको सकिएन । वाम गठबन्धनको घोषणा अनुसार काम गर्न नसकेको स्वीकार्दै प्रचण्डले प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्ति रहेको बताउनुभयो । यसैबीच, अर्का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीसँग नेकपा नझुक्ने बताउनुभयो ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले कम्युनिस्ट पार्टी सदस्य बन्न योग्य नरहेको र ओलीले असंवैधानिक तबरले कदम चालेको दाबी गर्दै उनीहरुसँग मिलेर जाने अवस्था नरहेको प्रस्ट्याउनुभयो । फेरि ओलीसँग मिल्छन् कि भनेर अन्य पार्टीहरुले शंका गरेको भन्दै नेता नेपालले आफूहरु विचारको राजनीति गर्ने पनि धारणा राख्दै मिल्ने संभावना नरहेको बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले घुँडा नटेकेसम्म सडक संघर्ष जारी रहने बताउनुभयो । ओलीको कदम प्रतिगमन भएको तर ओलीले राजनीतिक कदम हो भन्दै हिँडेको भन्दै नेता खनालले संविधान भन्दा बाहिर गएर कसैले कदम चाल्न नसक्ने धारणा राख्नुभयो । प्रतिगामी कदमको विरुद्ध आफुहरु सडकमा हुने खनालको भनाइ थियो ।
यसै बिच एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरुले वास्तविक जनप्रदर्शन गरेर देखाउने बताएका छन् । शुक्रबार काठमाण्डौमा पेशागत विशेष जिल्ला ब्यूरोको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुहरुले माघ २३ गते वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनि गरेर देखाउने बताएका हुन् । उनले शुक्रबार पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले गरेको विरोध सभा तथा प्रदर्शनलाई सामान्य भएको टिप्पणी गरे ।
प्रचण्ड–माधव समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले अदालतलाई धम्की नदिन पनि चेतावनी दिए । त्यस्तै विरोधसभाबारे टिप्पणी गर्दै उनले देशभरीबाट अलि अलि मान्छे जम्मा हुनु स्वभाविक भएको बताए ।