शर्मिला पण्डित
काठमाडौं । प्रचण्ड–माधव नेपाल पक्षले काठमाडौंमा गरेको विरोधसभामा सहभागी हुन आएकी विनिशा चौधरी नयाँबानेश्वरस्थित संसद भवनअघि भेटिइन् ।
सर्लाहीबाट पहिलोपटक काठमाडौं आएकी विनिशालाई आन्दोलनको कुनै मतलब थिएन । काठमाडौंको दृश्यमा भुलिरहेकी विनिशाले भनिन्– पहिलोचोटि काठमाडौं आएको रमाइलो लागिरहेको छ । मैले सोचेभन्दा काठमाडौ धेरै फरक रहेछ ।
उनी विरोधसभामा मान्छे ल्याउन रिजर्भ गरिएको गाडी चढेर काठमाडौं आएकी हुन् । तर उनलाई कसले केका लागि निशुल्क काठमाडौं ल्यायो थाहा छैन । ‘गाउँका एकजना नेताले काठमाडौं जाऔं भने, आएँ’, सित्तैमा काठमाडौं देख्न पाउने भएपछि नआउने कुरै भएन ।’
विनिशा आएको गाडी तीनकुनेमा पार्किङ गरियो । त्यहाँबाट हिंड्दै बानेश्वर थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा लगियो । शहरको दृश्यमा रमाइरहेकी विनिशा पार्टी प्यालेसको खाना खान पाउँदा झन् मख्ख परिन् ।
खाना खाएर विनिशाको एक टोली पशुपतिनाथ दर्शन गर्न जाने तयारीमा बानेश्वर चोक आएको थियो । उनीहरु टेप्पो चढेर गौशालातिर गए ।
प्रचण्ड–माधव समूहले सर्लाहीबाट मात्रै ७७ वटा गाडीमा मान्छे काठमाडौं ल्याएको थियो । रिजर्भ गाडीमा आउने धेरै मान्छे पहिलोपटक काठमाडौं आएका रहेछन् ।
०००
थापा गाउँस्थित अर्पण पार्टी प्यालेसमै भेटिइन्, धनुषाकी पार्वती यादव । खाना खाएर सुस्ताइरहेकी पार्वतीको छेवैमा दुई–चार वटा झोला थिए । जुन उनले काठमाडौंमै कारखाना खोलेर बसेका छोराका लागि कोसेली ल्याइदिएकी रहिछन् ।
पहिलोचोटि काठमाडौं आएकी यादवले भनिन्– छोरा यहीं आउँछु भनेको छ, त्यसैले कुरिरहेको । उनलाई कसले कुन कार्यक्रममा लागि ल्याएको भन्ने थाहा छैन । गाडीभाडा नपर्ने, सित्तैमा खान पाइने र काठमाडौं हेर्न पाउने लोभमा लहैलहैमा काठमाडौं आएकी रहिछन् ।
लामो बसको यात्रा गरेर आएका अधिकांश जुलुसमा जाने मनस्थितिमा थिएनन् । थकित मुद्रामा भेटिएका उनीहरुलाई जुलुसमा लैजान स्थानीय नेताले ताकेता गरिरहेका थिए ।
धनुषाबाट मात्रै सभामा सहभागी गराउन ७० वटा बसमा मान्छे ल्याइएको थियो ।
अर्पण पार्टी प्यालेसमा खाना खान पनि सजिलो भने थिएन । जिल्लैपिच्छेको फरक–फरक टिम रहेछ । टिकटको व्यवस्था भए पनि गाउँबाट आएकाहरु आफू कता जाने, कुन टोलीमा मिसिएर खाना खाने भन्ने अन्योलमा थिए ।
पार्टी प्यालेस बाहिर जिल्लाका नेता कुन गाउँपालिकाबाट कति जना आए रु भन्दै हिसाब गरिरहेका थिए ।
०००
खाना खाइसकेका एक हुल आन्दोलनमा सहभागी हुन भृकुटीमण्डपतिर लागे । उनीहरुलाई पछयाउँदै हिंड्यौं, हामी ।
उनीहरु मञ्च अघिल्तिर गएर बसे । नेताले के बोले रु उनीहरुलाई मतलब थिएन । बरु एकछिन आराम गर्न पाएकोमा आनन्द लिइरहेका थिए ।
अनुषादेवी पासवान पनि रातभर बसको यात्रा गरेर काठमाडौं आइपुगेकी हुन् । उनलाई पनि काठमाडौं आएका बेला पशुपति दर्शन गर्ने रहर रहेछ । तर, उनी जान पाइनन् । उनी पट्यारै मानेर भए पनि नेताका भाषण सुनिरहेकी थिइन् ।
‘मेयरले जौं भनेर आएको हो’ पासवानले भनिन्, ‘आएको बेला काठमाडौं घुमौंला भन्ठानेको थिएँ, मिलेन ।’ उनलाई संसद भनेको के हो रु भन्ने पनि थाहा रहेनछ । तर उनले भनिन्, ‘मेरो छोराले प्रधानमन्त्रीले नराम्रो काम गरेको भन्नू भनेको छ ।’
सभामै भेटिएकी विनिता यादव । स्थानीय निर्वाचनमा उपमेयर उठेर हारेकी उनी भन्दै थिइन्– विरोध पनि हुने, रमाइलो पनि हुने । अरु त त्यस्तै हो, खाना चैं खुब मीठो लाग्यो ।
उनी दोस्रोपटक काठमाडौं आएकी रहिछन् ।
०००
सिरहाको लहानबाट मंगलबार राति ९ बजे हिंडेको बस बुधबार बिहान १२ बजे काठमाडौं आइपुग्यो ।
यी त केही प्रतिनिधि पात्र मात्रै हुन् । मधेशका जिल्लाबाट विरोधसभामा आएका अधिकांशलाई राजनीति वा आन्दोलनबारे खासै केही थाहा छैन । सित्तैमा घुम्ने, खाने र रमाइलो गर्ने उद्देश्यबाट धेरै मान्छे काठमाडौं आएका रहेछन् । कतिपयले काठमाडौं आएका बेला आफ्ना निजी काम पनि गर्ने योजना बनाएका रहेछन् । नेपाल प्रेस