कृष्ण रिजाल
काठमाडौं । आर्थिक वर्षको आधा अवधि सकिँदा प्रदेशको औसत खर्च १५ प्रतिशत पनि पुग्न सकेको छैन । पुस मसान्तसम्ममा प्रदेशहरूको कुल खर्च ३९ अर्ब २६ करोड १० लाख रुपैयाँ पुगेको छ । यो विनियोजित कुल बजेट २ खर्ब ६४ अर्ब २० करोड रुपैयाँको १४।८६ प्रतिशत मात्रै हो ।
चालू आवको ६ महिनासम्ममा प्रदेशहरूले विनियोजित चालू बजेट १ खर्ब २३ अर्ब ७१ करोडको १५।८२ प्रतिशत खर्च गर्न सकेका छन् । त्यस्तै, प्रदेशहरूले विनियोजित कुल पुँजीगत बजेट १ खर्ब ३९ अर्ब ४९ करोडको १४।११ प्रतिशत मात्रै खर्च गर्न सकेका छन् । यो अवधिमा सबैभन्दा बढी खर्च लुम्बिनी प्रदेशले २२।८ प्रतिशत गरेको छ भने सबैभन्दा कम खर्च कर्णाली प्रदेशले ८।३९ प्रतिशत मात्रै गर्न सकेको छ ।
संघीय सरकारको जस्तै प्रदेशहरूले समेत खर्च गर्ने क्षमता बढाउन सकेका छैनन् । चालू आर्थिक वर्षको ६ महिनामा संघीय सरकारको कुल खर्च २८।१९ प्रतिशत पुगेको छ । तर, प्रदेशको खर्च भने संघको १३।३३ बिन्दु प्रतिशतले कमी हो ।
‘खर्च गर्ने क्षमतामा अपेक्षित सुधार आएन’
संघीय सरकारको अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहको खर्च गर्ने क्षमतामा अपेक्षित सुधार नै आउन नसकेको औँल्याएको छ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेटका अर्धवार्षिक मूल्यांकन प्रतिवेदनले सुधारका प्रयास हुँदाहुँदै पनि तीनै तहका सरकारको आयोजना कार्यान्वयन र खर्च गर्ने क्षमतामा अपेक्षित सुधार आउन नसकेको औँल्याएको हो ।
प्रदेश एकको खर्च औसतभन्दा बढी
प्रदेश १ ले चालू आवमा प्रदेशहरूमध्येको दोस्रो ठूलो बजेट ल्याएको थियो । तर, खर्च भने तुलनात्मक रूपमा औसत मात्रै भएको देखिन्छ । चालू आर्थिक वर्षको ६ महिनामा प्रदेश १ ले कुल विनियोजित बजेटको १८।६८ प्रतिशत खर्च गर्न सकेको छ । चालू आवमा प्रदेश १ को कुल बजेट ४० अर्ब ८९ करोड ९९ लाख रुपैयाँ रहेको छ । यस अवधिमा प्रदेश १ ले विनियोजित चालू बजेट १८ अर्ब ९३ करोड ४९ लाख रुपैयाँको १४।७१ प्रतिशत खर्च गरेको छ । त्यस्तै, पुँजीगततर्फ विनियोजित २१ अर्ब ९२ करोड ५० लाख रुपैयाँको २२।१४ प्रतिशत खर्च भएको छ ।
प्रदेश २ को खर्च औसतभन्दा थोरै
प्रदेश २ को खर्च निराशाजनक देखिन्छ । यस प्रदेशले समीक्षा अवधिमा कुल विनियोजित बजेट ३३ अर्ब ५६ करोड १० लाख रुपैयाँको ९।५८ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । यसमध्ये चालूतर्फ विनियोजित १५ अर्ब ४२ करोड २७ लाखमध्ये १ अर्ब ५९ करोड ५६ लाख खर्च भएको छ । त्यस्तै, पुँजीगततर्फ विनियोजित १७ अर्ब ९७ करोड ८३ लाखमध्ये १ अर्ब ६२ करोड ७ लाख रुपैयाँ खर्च भएको छ । प्रदेश २ ले विनियोजित बजेटमध्ये ६ महिनामा चालूतर्फ १०।३५ प्रतिशत र पुँजीगततर्फ ९।०१ प्रतिशत खर्च गर्न सकेको हो ।
बागमती प्रदेश बजेट ठूलो खर्च थोरै
चालू आर्थिक वर्षमा सवैभन्दा ठूलो आकारको बजेट ल्याएको बागमतीको खर्च भने धेरै हुन सकेको छैन । बागमती प्रदेशले चालू आवका लागि कुल ५१ अर्ब ४२ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको थियो । जसमा चालूतर्फ २६ अर्ब २८ करोड ७३ लाख रुपैयाँ र पुँजीगततर्फ २४ अर्ब १४ करोड २ लाख रुपैयाँ विनियोजन गरिएको थियो । यस ६ महिनाको अवधिसम्म बागमती सरकारले विनियोजित बजेटको १५।०३ प्रतिशत खर्च गरेको छ । त्यस्तै, चालूतर्फ विनियोजित बजेटको १७।०२ प्रतिशत र पुँजीगततर्फ विनियोजित बजेटको १३।४८ प्रतिशत खर्च गरेको छ ।
गण्डकीको खर्च औसतकै हाराहारी
गण्डकी प्रदेशले ६ महिनामा कुल ५ अर्ब २७ करोड १६ लाख रुपैयाँ खर्च गरेको छ । यो कुल बजेटको १५।१३ प्रतिशत हो । चालू आवका लागि गण्डकी प्रदेशले ३४ अर्ब ८४ करोड २२ लाख रुपैयाँबराबरको बजेट ल्याएको थियो । समीक्षा अवधिमा गण्डकीले १ अर्ब ९६ करोड ११ लाख रुपैयाँ चालू र ३ अर्ब ३० करोड ९५ लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ । यो विनियोजित चालू बजेट १४ अर्ब ३४ करोड २७ लाखको १३।६७ प्रतिशत र पुँजीगत बजेट १९ अर्ब ९९ करोड ९५ लाखको १६।५५ प्रतिशत हो ।
लुम्बिनी सबैभन्दा धेरै खर्च गर्ने प्रदेश
चालू आर्थिक वर्षमा प्रदेश ५ को कुल बजेट ३६ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ हो । पुस मसान्तसम्ममा यस प्रदेशले विनियोजित कुल बजेटको २२।८० प्रतिशत खर्च गर्न सकेको छ । त्यस्तै, चालूतर्फ ४ अर्ब ७४ करोड ७५ लाख रुपैयाँ खर्च भएको छ । यो खर्च विनियोजित १७ अर्ब ७३ करोड २५ लाख चालू बजेटको २६।७७ प्रतिशत हो । त्यस्तै, यस अवधिमा प्रदेश पाँचले ३ अर्ब ५४ करोड २१ लाख रुपैयाँ पुँजीगत खर्च गर्न सकेको छ । यो विनियोजित पुँजीगत बजेट १८ अर्ब ६२ करोडको १९।०२ प्रतिशत हो ।
कर्णाली सबैभन्दा कम खर्च गर्ने प्रदेश
चालू आर्थिक वर्षका लागि कर्णाली प्रदेशले कुल ३३ अर्ब ७४ करोड १४ लाख रुपैयाँको बजेट ल्याएको थियो । यसमध्ये चालूतर्फ १४ अर्ब ६७ करोड २२ लाख रुपैयाँ र पुँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख रुपैयाँ विनियोजन गरिएको थियो । कर्णाली सरकारले पुस मसान्तसम्ममा कुल बजेटको ८।३९ प्रतिशत खर्च गरको छ । समीक्षा अवधिमा कर्णाली प्रदेशले चालूतर्फ १ अर्ब ७१ करोड १३ लाख रुपैयाँ र पुँजीगततर्फ १ अर्ब ११ करोड ९४ लाख रुपैयाँ खर्च गरेको छ । विनियोजित बजेटमा चालूतर्फ ११।६६ प्रतिशत तथा पुँजीगतर्फ ५।८७ प्रतिशत खर्च गर्न सकेको हो ।
सुदूरपश्चिमको खर्च औसत सरह
सुदूरपश्चिम प्रदेशले पुस मसान्तसम्ममा कुल विनियोजित बजेट ३३ अर्ब ३८ करोड १३ लाख रुपैयाँको १२।८२ प्रतिशत खर्च गर्न सकेको छ । समीक्षा अवधिमा सुदूरपश्चिमले चालूतर्फ १६ अर्ब ३२ करोड २९ लाख रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ करोड विनियोजन गरेको थियो । जसमध्ये हालसम्म चालूतर्फ १४।०५ प्रतिशत अर्थात् २ अर्ब २९ करोड २६ लाख र पुँजीगत ११।८५ प्रतिशत अर्थात् १ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ । नयाँपत्रिका