काठमाडौं । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेर सर्वोच्च अदालतको फैसला पश्चात नेकपा ओली समुहका नेताहरु अहिले बालुवाटारमा जम्मा भएका छन् ।
सरकारका मन्त्रीहरु र पार्टीका नेताहरु त्यसका लागि बेलुकी ६ बजेको आसपास बालुवाटार पुगेका थिए । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व नै सर्वोच्चको फैसलाबारे मिडियामा खबर फैलिसकेको थियो । तर, कार्यक्रम निर्धारितरुपमै सञ्चालन भयो ।
प्रधानमन्त्री केपी ओली र पत्नी राधिका शाक्य मञ्चमा आसिन थिए । प्रधानमन्त्री ओली बेलाबेला मोबाइल खोलेर समाचारहरु हेरिरहेका देखिन्थे । उनको भागभंगिमामा खासै फरक नदेखिएको एक सहभागीले जानकारी दिए ।
‘प्रधानमन्त्रीको अनुहारमा पहिलेभन्दा कुनै परिवर्तन देखिएन, अरु नेताहरु पनि बाहिरबाट हेर्दा शान्त नै थिए,’ उनले भने ।
कार्यक्रममा प्रधानमन्त्रीले भाषण गरेनन् । राधिकाले मात्र बोलेकी थिइन् । उनले आफ्नो पारिवारिकरराजनीतिक जीवनका अनुभूतिहरु बाँडेकी थिइन् । पार्टीकी नेतृ तथा गायिका कोमल ओलीले प्रधानमन्त्री ओलीलाई सांगीतिक शुभकामना दिइन् । अरु पनि सांगीतिक प्रस्तुति भए ।
कार्यक्रममा सरकारका अधिकांस मन्त्रीहरु र पार्टीका नेताहरु सहभागी भएका थिए । उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा बादललगायतको उपस्थिति रहेको थियो । प्रधानमन्त्रीको सचिवालयका सदस्य तथा शुभचिन्तकहरु पनि थिए ।
औपचारिक कार्यक्रम सकिएपछि प्रधानमन्त्रीलाई शुभकामना दिने सिलसिला अबेरसम्म चलिरहेको छ । नेताहरुले प्रधानमन्त्रीलाई फुलगुच्छा दिएर शुभकामना अर्पण गरेका छन् । शुभकामनाको क्रम सकिएपछि नेताहरु अनौपचारिक छलफलमा जुट्ने बताइएको छ ।