काठमाडौं । प्रतिनिधिसभा पुनस्स्थापनासँगै नयाँ सत्ता समीकरणको लागि बोलाइएको बैठकमा पेरिसडाँडा पुगेका सजपाका नेताहरुले आधिकारिक पार्टीका बारेमा जिज्ञासा राखेका छन् ।
दुई पार्टी बिच भएको छलफलका क्रममा नेताहरुले पुष्पकमल दाहल “प्रचण्ड” र माधवकुमार नोपललाई तपाईहरुको पार्टी कुन हो भन्दै प्रश्न गरेका छन् ।
अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई भेट्न जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ बिहीबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा पुगेका थिए ।
छलफलमा आगामी दिनमा सहकार्य गरेर जानको निम्ति प्रचण्ड–माधवले आफूहरूलाई प्रस्ताव गरेको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए । जसपा नेताहरुले प्रचण्ड(माधव पक्षको पार्टी कुन हो स्पष्ट पार्नका लागि आग्रह गरेका छन् ।
प्रस्तावबारे पार्टीको बैठकमा छलफल गर्ने बताएको भन्दै महतोले भने ‘कसरी अगाडि बढ्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो । सहकार्य गर्न सकिन्छ कि भनेर कुराहरु राख्नुभयो । तपाईंको कुन पार्टी हो ? पार्टी सिस्टममा पार्टी चाहियो । त्यो के हो ? त्यो प्रष्ट हुनुस् भनेर हामीले जिज्ञासा राख्यौं ।’
जसपा नेताहरूले पटक(पटक गरेको सहमतिमा आफूहरुले धोका खाएको पनि स्मरण गराएका थिए । आफ्नो पार्टीका सांसद रेशम चौधरीलगायतका नेताहरू जेलमा रहेकोमा रिहाइको शर्तलाई पनि सवालको रूपमा जसपा नेताहरूले उठाएका छन् ।
‘हाम्रा आन्दोलनकारी साथीहरू, निर्वाचित सांसद रेशम चौधरीलगायतले अहिले पनि बन्दी जीवन विताइरहेका छन् । यी सवालहरू छन् । हामीले यो प्राथमिकताका साथ उठाएका छौं, आगामी दिनमा पनि उठाउने छौं र यसको लागि संघर्ष गर्छौं’ महतोले भने, ‘संविधानमा रहेका त्रुटि, कमिकमजोरीहरु र बन्दी रिहाइका सवालहरु समेत जुनसुकै सरकार बने पनि त्यसको अगाडि संघर्ष गर्ने हो । विगतमा पनि संघर्ष गरेको हो । आगामी दिनमा पनि संघर्ष गर्ने हो । यही कुरा भन्यौं ।’
यसअघि हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहकार्यका लागि दाहाल र नेपाल दुवैले संयुक्त भेट गरेका थिए ।