काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन राप्रपा अध्यक्ष कमल थापाले प्रस्ताव गरेका छन् ।
नेता भट्टराईले मंगलवार साँझ ट्वीट गर्दै प्रवासबाट स्वास्थ्य लाभ पश्चात स्वदेश फर्किएको भन्दै आफूलाई आफ्नोभन्दा देशको स्वास्थ्यको बढी चिन्ता लागेको बताएका थिए ।
राप्रापा नेता थापाले ब्यङ्ग्य गर्दै उनको ट्वीटको रिप्लाई गर्दै लेखेका छन्, ‘दिल्लीमा स्वास्थ परिक्षण र उपचार गरेर फर्कने बित्तिकै यस्तो मौलिक सोच आउनु मित्रको उर्वर मस्तिष्कको प्रशंसा गर्नैपर्छ ।’ नेता भट्टराईले, ‘अहिलेको समस्याको जरो ०६५ र ६६ पछि भत्केको राजनीतिक सहमति भएको भन्दै बाटो बिराए पुरानै ठाउँमा फर्कनु भने झैं एक पटक फर्गिभ एण्ड फर्गेट स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माणसँगै यी काम गरौं,’ भनेका छन् ।
भट्टराईले टिआरसी लगायतका शान्तिप्रक्रियाका बाँकी काम पुरा गरौं, सहमतिले संविधान संशोधन गरौं, संवैधानिक अंगहरुलाई निश्पक्ष बनाएर सुशासन दिउँ, समावेसी समृद्धिको वृहद गुरुयोजना बनाएर कार्यान्वयन गरौं, विश्व र छिमेकमा बदलिँदो भू–राजनीतिलाई ध्यान दिँदै मुख्यतः भारत, चीन र अमेरिकासँग असल सम्बन्ध बनाऔं भनेका छन् ।
बाबुरामका यिनै कुराहरुमा प्रत्यूत्तर दिँदै नेता थापाले भनेका छन्, ‘बरु यो सबै कामका लागि भर्खरै दिल्लीबाट स्वस्थ भएर फर्कनु भएको तपाईंलाई नै प्रधानमन्त्री बनाऔं भन्ने मेरो प्रस्ताव छ । यसो गरे कसो होला ? सहपाठी मित्र !’ भनेका छन् ।