काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) लामो समयपछि खुला रुप्मा काठमाडौं पुगेका छन् ।
बिहान नवलपरासीबाट प्रस्थान गरेका उनी केहीबेर अगाडि निजी गाडी चढेर काठमाडौं भित्रिएका हुन् ।
सुरक्षा स्रोतका अनुसार उनी नागढुंगा नाकाबाट काठमाडौं आइपुगेका छन् । दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने छन् । सो समारोहमा शान्ति प्रक्रियामा आउने लगायतका विस्तृत सम्झौतामा दुवैले हस्ताक्षर गर्ने छन् ।
समारोहमा सहभागी हुन विप्लव काठमाडौं जान लागेको सूचना पाएपछि प्रहरीले चितवनबाट स्कर्टिङ गरेको थियो । उनी शुक्रबार बिहानै नवलपरासीबाट काठमाडौंका लागि प्रस्थान गरेका थिए ।
पहिलो भेट प्रधानमन्त्रीसँग
सरकारले प्रतिबन्ध फुकुवा गरेको भूमिगत नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले काठमाडौं आएलगत्तै पहिलो भेला प्रधानमन्त्रीसँग गर्ने भएका छन् ।
राष्ट्रियसभाबाट सार्वजनिक हुनुअघि विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने भएका छन् ।
सरकारसँगको वार्ता सफलतापछि शान्तिपूर्ण राजनीतिमा अवतरण गर्न पाएका विप्लवले आज राष्ट्रियसभागृहमा प्रधामन्त्रीसँगै एउटै मञ्चबाट सम्बोधन गर्दैछन् । त्यहाँ सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र विद्रोही नेकपाको तर्फबाट विप्लवले सहमतिमा हस्ताक्षर समेत गर्ने कार्यक्रम छ ।
स्रोतका अनुसार उनी काठमाडौं आउनासाथ सीधै प्रधानमन्त्री निवास बालुवाटार जानेछन् । त्यहाँ प्रधानमन्त्रीसँग उनले भावी रणनीतिबारे छलफल गर्नेछन् । विप्लवले ओलीलाई देशभक्त नेता भन्ने गरेको र राष्ट्रियताको आन्दोलनमा सहकार्य गर्न सकिने बताएको स्रोतको भनाइ छ ।
त्यसैले बालुवाटारमा दुई नेताबीच राजनीतिक विषयमा छलफल हुनेछ । यसअघि तत्कालीन विद्रोही माओवादीका नेताहरू प्रचण्ड र बाबुराम भट्टराईलाई पनि शान्ति वार्ताको सफलतापछि कास्कीको सिकलेसबाट हेलिकोप्टरमा सीधै बालुवाटार लगिएको थियो । विप्लव र प्रधानमन्त्री ओलीबीच छलफलपछि सभागृहबाट सहमतिका विषय सार्वजनिक हुनेछन् ।