रुकुमकोट । लुम्बिनि प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा पहिलो पटक कापी उद्योग स्थापना भएको छ ।
जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १४ जामाबगर नाखामा कापी उद्योग सञ्चालनमा आएको छ । जामाबगरका टोपजङ बुढामगरले व्यक्तिगत लगानीमा जिल्लामै पहिलो पटक सानोभेरी कापी उद्योग सञ्चालन गरेका हुन् ।
साढे ८ लाख लगानीमा कापी उद्योग स्थापना गरी सूचारु गरिएको र अहिले कापी उत्पादन थालिएको सञ्चालक बुढा मगरले बताए । उनका अनुसार उद्योग सञ्चालनका लागी भवन निर्माण गर्दा एक लाख ७५ हजार, मेसिन खरिदमा साढे ४ लाख र कापी उत्पादन गर्ने आवश्यक कच्चा पदार्थहरु खरिद ३ लाख गरी साढे ८ लाख भन्दा बढी लगानी भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वमा दर्ता गरी उद्योग सञ्चालन गरिएको र हाल पहिलो चरणमा १५ हजार पिस विभिन्न साइजका कापीहरु उत्पादन गरिएको उद्योग सञ्चालक बुढा मगरले बताउनुभएको छ । जिल्लामा कापी उद्योग नहुँदा सबै विद्यालयहरुमा बाहिरबाटै कापीहरु ल्याउनु पर्ने बाध्यता केहीहदसम्म भएपनि हट्छकी भनेर उद्योग सञ्चालन गरिएको उनको भनाई छ ।
यहाँको उद्योगमा उत्पादन भएका कापीहरु सिस्ने गाउँपालिका प्वाङ, सिस्ने, पुथा उत्तरगंगा गाउँपालिकाका चारगाऊँ, जाङ, राङसी कोल, गरखानी, तकसेरा, हुकाम मैकोट, लगायतका ठाउँमा पठाउने तयारी भैरहेको बुढा मगरले बताए । समग्र जिल्लाभरीनै कापी पु¥याउने गरी उद्योगलाई विस्तारै गर्दै लैजाने पनि उनले जानकारी दिए ।
कापी उद्योग सञ्चालनका लागी चाहिने सबै सामग्रीहरु विरगञ्जबाट ल्याउने गरिएको उनले जानकारी दिए । कापी उद्योगका लागी मासिक रुपमा प्रतीव्यक्ति २० हजार तलव दिने गर दुई जना राखिएको पनि बुढा मगरको भनाई छ । अव गाउँमा नै उद्योग स्थापना भइ कापीहरु उत्पादन हुन थालेकाले विद्यार्थीहरुका लागी चाहिने कापीहरु बाहिरबाट ल्याउनु पर्ने बाध्यताको अन्त्य हुने स्थानिय सिद्धमन्डली माद्यामिक विद्यालयका प्रधानाद्यापक चिताराम केसीले बताए ।