काठमाडौं । सत्तारुढ नेकपा (एमाले) को केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टी विग्रह र विभाजनको बाटोमा जान नदिन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
बोहराले आइतबार विशेष ध्यानाकर्षण पत्र जारी गर्दै पार्टी एकताको संरक्षण गर्दै मुलुकलाई फेरि स्थायित्व प्रदान गर्ने प्रयासका लागि पार्टी पंक्ति र अध्यक्ष ओलीलाई आग्रह गरेका छन् । अध्यक्ष बोहराले ढिपी नगरी फागुन २८ गतेको एकतर्फी निर्णयलाई अबिलम्ब फिर्ता गर्न र विधानबमोजिम केन्द्रीय कमिटी बैठक, केन्द्रीय निकाय तथा मातहतका कमिटीहरुका बैठक तत्काल बोलाउन पनि माग गरेका छन् ।
'पार्टीलाई पुनः एकताबद्ध बनाउन एउटा पक्षमात्र सामेल भएर गरेको २०७७ फागुन २८ गतेको निर्णयलाई बिना बिलम्ब फिर्ता गरौं । विधिविपरीत कमिटीमा थप गर्ने र हटाउने गरी भएका सबै निर्णय सच्याऔं । पार्टीलाई सहमतिको बाटोमा अघि बढाउन नवौं राष्ट्रिय महाधिवेशनको नीति, कार्यदिशा, विधान एवं नियमावली हाम्राबीच अहिले पनि जीवित छन् । तिनलाई सबैले पालना गरौं,' बोहराले जारी गरेको पत्रमा भनिएको छ, ‘विधानको व्यवस्थाबमोजिम केन्द्रीय कमिटी, केन्द्रीय निकाय तथा मातहतका सबै कमिटीका बैठकहरू तत्काल बोलाऔं । पार्टीलाई विग्रह र विभाजनको बाटोमा जानबाट बचाऔं, पार्टी एकताको संरक्षण गरौं ।’
एमाले आमूल रुपान्तरण र समाजवाद प्राप्तिको निम्ति संघर्षरत पार्टी भएकोले एकता जोगाउन र श्रमजीवी जनसमुदायका अगाडि गरेका संकल्पलाई फेरि गम्भीर भएर स्मरण गर्न पनि उनले आग्रह गरेका छन् ।
'पार्टी निर्माणका प्रतिकूल दिनमा हामीले गरेका मेहनत, दुःख, त्याग र बलिदान तथा आम श्रमजीवी जनसमुदायका अगाडि गरेका संकल्पलाई फेरि एक पटक गम्भीर भएर स्मरण गरौुं, बोहराको पत्रमा छ । नेताहरूमा अहिलेकै शैली र प्रवृत्ति कायम रहेमा कठोर संघर्षपछि प्राप्त गरेका लोकतनत्र, गणतन्त्र, संविधानजस्ता आन्दोलनका महत्वपूर्ण उपलब्धि पनि धरापमा पर्दै जाने र कम्युनिष्ट आन्दोलनमा समेत क्षति पुग्नेमा उनले सचेत गराएका छन् ।