काठमाडौं । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३० ओटा बिशेष निर्णय गरेको छ ।
सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज पत्रकार सम्मेलन गरी कोरोना नियन्त्रणका लागि गरिएको निर्णय सार्वजनिक गरे ।
मन्त्री गुरुङका अनुसार कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि आवश्यक व्यवस्था मिलाउन प्रत्येक जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र पहाडी र हिमाली जिल्लाको हकमा २०० र उपत्यका र काठमाडौं उपत्यकाको हकमा ५०० सङ्क्रमित संख्या पुगेमा २०७८ वैशाख १६ देखि बिहान ६ बजेदेखि लागु हुनेगरी १५ दिनसम्म लागू हुनेगरी सार्वजनिक आवागमन, बजार सञ्चालन तथा अन्य सबै किसिमको वस्तु र सेवाको आपूर्ति र सञ्चालनमा आवश्यक निषेध आदेश जारी गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारीले आवश्यकताअनुसार स्थानीय प्रशासन ऐन २०१८ ले दिएको अधिकार समेत प्रयोग गर्ने भनिएको मन्त्री गुरुङले जानकारी दिए ।
यस्तै बिद्यालयदेखि बिश्वबिद्यालयसम्मका सवै परीक्षा स्थगित गरिएको मन्त्री गुरुङले जानकारी दिए । उनका अनुसार भौतिक उपस्थितिबाहेक भर्चुअल र बैकल्पिक माध्इमबाट मात्रै बिद्यालय र कलेज सञ्चालन गर्न पाइने छ ।
यसैगरी नेपालसँग सिमाना जोडिएको छिमेकी मुलुकका नागरिक बाहेक अन्य देशका नागरिकको स्थलगमार्गबाट आवागमन स्थगित गर्ने, स्थलमार्गबाट नेपाल आउनुपर्ने भारतीय नागरिकलाई निजले यात्रा गर्नुअघि स्वाव संकलन भएको ७२ घण्टाभित्र कोभिड १९ नेगेटिभ रिपोर्ट तथा १० दिन अनिवार्यरुपमा होटल क्वारेन्टाइनमा बस्नेगरी होटल बुक गरेको प्रमाणपत्रको आधारमा स्थानीय प्रशासनको अनुमतिमा नेपाल प्रवेश गर्न दिने निर्णय पनि सरकारले गरेको छ ।
सोहीअनुसार चिनियाँ नागरिकको हकमा प्रवेषाज्ञा अतिरिक्त निजले यात्रा गर्नुअघि स्वाव सङ्कलन भएको ७२ घण्टा भित्रको कोभिड १९ नेगेटिभ रिपोर्ट तथा १० दिन अनिवार्यरुपमा होटल क्वारेन्टाइनमा बस्नेगरी होटल बुक गरेको प्रमाणपत्र पेश गरेको हुनुपर्ने भनेको छ । हवाई मार्गबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकले स्वाव सङ्कलन गरेको ७२ घण्टाभित्र कोभिड १९ नेगेटिभ रिेपोर्ट पेश गर्नुपर्ने र प्रवेश गरेपछि १० दिनसम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान सरकारले बनाएको छ ।
हेर्नोस कोभिड नियन्त्रण सम्बन्धी ३० निर्णय