काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक पत्रकार सम्मेलन आयोजना गर्न लागेको खबर शुक्रबार बिहानै समाचार कक्षहरुमा सम्प्रेशन भयो । राजधानीमा निषेधाज्ञा जारी भएसँगै केन्द्रको राजनीतिक चलखेल सुस्ताएका बेला देउवाले गतिलै खुराक दिने आशाले पत्रकारका मुख रसाए ।
कोरोना नियन्त्रणका लागि भन्दै काठमाडौंमा बिहीबारदेखि लागू गरिएको निषेधाज्ञाका कारण अहिले धेरै पत्रकार सकेसम्म समाचारकक्षमै खुम्चिएका छन् । राजनीतिक रिपोर्टिङ गर्न पत्रकारलाई केही दिनअघिसम्म भ्याइनभ्याइ थियो । अहिले फुर्सदिला भएका छन् । यस्तोमा ‘वेटिङ प्राइममिनिस्टर’ ले निवासमै डाकेपछि नजाने प्रश्नै आएन ।
देउवा मिडिया फ्रेन्डली नेता होइनन् । उनलाई धेरै सवालजवाफ गर्न पनि मन पर्दैन । तर, बेलाबखत कुनै महत्वपूर्ण कुरा भन्नुपर्यो भने निवासमै पत्रकार डाक्छन् । त्यसैले आज पनि देउवाले के भन्ने हुन् भन्ने कौतुहल ब्यापक थियो । खासगरि नयाँ सरकार निर्माणका विषयमा नयाँ कुरा केही आउला कि भन्ने आशामा थिए पत्रकार ।
तर, देउवाको आजको पत्रकार सम्मेलनको उद्देश्य गैरराजनीतिक थियो । उनले कोरोनाको विषयमा कांग्रेसको धारणा सुनाउन पत्रकारलाई डाकेका रहेछन् । आफ्नो निवासको प्रांगणमा पत्रकारलाई वरिपरी राखेर उनले लिखित मन्तव्य पढे । कोरोनाका विरुद्ध सरकारले लिएका रणनीतिहरुको आलोचना गरे र कांग्रेसले जनतामा सचेतना अभियान सञ्चालन गर्न लागेको सुनाए ।
यता पत्रकारलाई भने देउवाको राजनीतिक सन्देश चाहिएको थियो । कोरोनाको मात्रै कुरा गरेर देउवाले लिखित मन्तव्य टुंग्याएपछि पत्रकारले राजनीतिक प्रश्न सोध्न थालिहाले । आफ्नो स्वभावअनुसार देउवाले पनि हरेक प्रश्न(प्रश्नमा झोक्किँदै जवाफ दिए ।
नयाँ सरकार गठन र अविश्वास प्रस्तावको विषयमा उनले आफ्नो पक्षमा बहुमत नपुगेको जवाफ दोहोर्याए । एमसीसीबारेको प्रश्नमा उनी उत्तेजित देखिए । सित्तैमा पैसा आउने भन्दै यसलाई अनुमोदन गनुपर्ने अडान देउवाले दोहोर्याए ।
‘यो बाबुराम भट्टराइको पालादेखि भएको काम हो,’ देउवाको भनाइ थियो, ‘मेरो पालामा त सिग्नेचर गरेर पठाएको मात्रै हो । यत्रो ठूलो अनुदान, ब्याजस्याज छैन । सित्तैमा आएको छ । तर, अनेक भ्रम फैलाइयो ।’