नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालका दुवै पक्षका नेताहरुबीच विवाद समाधानका लागि सिंहदरबारमा वार्ता भइरहेको छ ।
दुवै पक्षका दोस्रो तहका नेताहरुसहित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा वार्ता सुरु भएको हो। वार्तामा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, इश्वर पोखरेल र बिस्नु रिमाल सहभागी छन् भने नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी छन्।
बिहीबार दिउँसो ओली र नेपालबीच भएका सहमति कार्यान्वयनबारे थप छलफल गर्न वार्ता सुरु भएको हो। ओलीसँग वार्ता गर्नुअघि नेता नेपालले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुसँग भर्चुअल बैठक गरेका थिए।
नेता नेपालका अनुसार ओली पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन सहमत भएका छन्। तर त्यहाँसम्म कसरी जाने भन्ने विषयमा दुवै पक्षले दोस्रो तहका नेतासहित छलफल थालेका हुन्। ओलीसँगको वार्तामा बस्नुअघि माधव नेपाल पक्षले तीनवटा बटमलाइन बनाएको बुझिएको छ ।
जसमा २०७५ जेठ २ को स्थायी कमिटी बैठक बसेर सवै विवाद मिलाउने, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै ति विषयको छिनोफानो हुनुपर्ने र त्यो नभए सामूहिक राजीनामा दिने बटमलाइन तय गरेको एक नेताले बताए ।
हामीले निश्चित तीन बटमलाइन बनाएका छौ सोही आधारमा नेताहरुबीच अहिले छलफल भएको छ, माधव पक्षका एक नेताले बताए । ओलीसँगको वार्ताबारे आज नेता नेपालले पहिला स्थायी समिति र पछि केन्द्रीय समितिका आफुपक्षीय नेताहरुसँग परामर्श गरेका थिए । हिजो नेता नेपाल र ओलीबीच भएको कुराकानीमा ओलीले बजेट ल्याउनुपर्ने भएकाले चाडै विश्वासको मत लिनुपर्ने अवस्था आउने बताएका थिए । सो बुझेर माधव पक्षले विश्वासको मत लिनुअघि नै पार्टीका समस्या सम्बोधन गर्नुपर्ने अडान ओली समक्ष राखेको बुझिएको छ ।