सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा बेपत्ता भएका ७ जनाको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाका अनुसार मंगलबारदेखि बेपत्ता भएका ७ जनाको शव भेटिएको हो ।
डीएसपी सापकोटाका अनुसार मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ । उनका अनुसार मृतकहरू सबै मेलम्ची ट्राउट फर्ममा कार्यरत थिए ।
मृत्यु हुनेहरूमा हेलम्बु-२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षका गणेश ज्योति, हेलम्बु-३ का १३ वर्षीया टीकामाया खड्का, हेलम्बु-७ का ज्ञानेन्द्र कक्षपति, चौतारा साँचोकगढी नगरपालिकाका २३ वर्षीय समुन्द्र नेपाल र हेलम्बु-६ का च्याङ्बा तामाङ छन् ।
जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ । इन्द्रावती र मेलम्ची जोड्ने मोटरेबल पुल बगेको डीएसपी सापकोटाले बताए ।
हेलम्बुबाटै उर्लिंदै आएको मेलम्चीले आठवटा ट्राउट माछा फर्म, नाकोते पुल, तिम्बु, चनौटे बजार, खेतीयोग्य जमिन, आमाह्योल्मो बसपार्क, सिटी पार्क बगाएको उनले जानकारी दिए ।