काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सकरात्मकतातर्फ उन्मुख भएको छ ।
कमलपोखरीस्थित मेरियट होटलमा साँझ ७ बजेदेखि दुई घण्टासम्म वार्ता भएको हो । विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि तिक्ततापूर्ण सम्बन्ध रहेकाबेला दुई शीर्ष नेताहरुबीच भेट भएको छ ।
वार्तामा ओली पक्षका नेता ईश्वर पोखरेल र विष्णु पौडेल तथा नेपाल पक्षका भीम रावल र सुरेन्द्र पाण्डे पनि सहभागी थिए ।
बैठकमा सहभागी एमाले उपाध्यक्ष भीम रावलले वार्ता सकारात्मकपूर्णरुपमा अघि बढेको प्रतिक्रिया दिनुभयो । त्यस्तै स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पनि वार्ता सकारात्मक भएको र भोलि कार्यदलको बैठक बस्ने र त्यसपछि दुई शीर्ष नेता बसेर विवाद टुंगो लगाउने दाबी गरे ।
कार्यदलको बैठक आज पनि बस्दै
सत्तारुढ दल नेकपा (एमाले) को विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ । हिजोको कार्यदलको बैठक र अध्यक्ष केपी शर्मा ओली अनि वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफलको निष्कर्षका आधारमा आज पनि कुराकानी जारी रहने कार्यदल सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।
अध्यक्ष ओली र नेता नेपालबीच काठमाडौँको एक होटलमा हिजो साँझ डेढ घण्टा कुराकानी भएको थियो । छलफलमा ओलीले सर्वोच्चमा बुझाइएको नेताहरूको हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको र नेपालले एक पक्षीय रूपमा गरिएका निर्णय कार्यान्वयन नगर्न अनुरोध गरेका नेताहरूले बताएका छन् ।
नेपाल पक्षका नेता भीमबहादुर रावलका अनुसार दुवै नेताबीचको वार्ता सकारात्मक भएको छ । पार्टी भित्रका विभिन्न समस्यामाथि गम्भीर छलफल भइरहेकाले गहिराईमै पुगेर सहमतिको प्रयास भइरहेको उहाँको भनाइ छ । वार्तालाई जारी राख्ने र अर्को बैठकमा पुनः छलफल गर्ने सहमति बनेको नेता रावलले जानकारी दिए ।