काठमाडौं । सत्तारुढ दल नेकपा एमाले एकताको सन्देश दिने संयुक्त वक्तव्यका केही बुँदाको भाष मिलाउने काम मात्र बाँकी रहेको कार्यदलका सदस्य बताएका छन् ।
विवाद समाधानका लागि गठन गरिएको कार्यदलको बैठक उक्त बुँदाका भाषा मलिाउने अन्तिम तयारप्मा जुटेको कार्यदलका एक सदस्यले जानकारी दिए ।
एमाले वार्ता टोलीमा संस्थापनको नेतृत्व गर्नुभएका सुवासचन्द्र नेम्वाङले थप केही विषय मिलाउनुपर्ने भएकाले बैठक साँझसम्मका लागि स्थगित गरिएको बताए । कार्यदलको बैठक साँझ ७ बजे बोलाइएको छ ।
बिहान ११ बजे बस्ने भनिएको बैठकअघि नेताहरुबीच अनौपचारिक छलफल भएको थियो । नेताहरु विष्णु पौडेल, भीम रावल र शंकर पोखरेलबीच एक चरणमा छलफल भएपछि रावल वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।
एमालेका दुई शीर्ष नेताहरु अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच बिहीबार साँझ दुई घण्टा होटल मेरियटमा छलफल भएको थियो ।
नेम्वाङका अनुसार दुई शीर्ष नेताले संयुक्त हस्ताक्षरमा जारी गर्ने बक्तव्यका केही बुँदामा भाषा मिलाउने काममात्रै बाँकी रहेको बताए । नेपाल पक्षीय कार्यदल संयोजक भीम रावल र सदस्य सुरेन्द्र पाण्डेले पार्टीभित्रको आन्तरिक विवाद सहमति नजिक पुगेको र साँझ टंगोमा पुग्ने विश्वास व्यक्त गरे ।
‘लगभग समाधानको विन्दुमा पुग्यौं’– नेताहरु
नेकपा एमालेका एकताका लागि गठिन कार्यदल सहमतिनजिक पुगेको एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए ।
आजको बैठकपछि विष्टले सकारात्मक र समाधानउन्मूख छलफल भइरहेको बताए । बैठकपछि पत्रकारसँग कुरा गर्दै माधव नेपाल पक्षका नेता गोकर्ण विष्टले अब निष्कर्षमा पुग्न लामो समय नलाग्ने प्रतिक्रिया दिए ।
उनले भने, ‘हामी लगभग समाधानको विन्दुमा पुगेका छौं, २/४ घण्टा समय लिन सक्छ, तर निष्कर्षमा पुग्न लामो समय लाग्दैन ।’ हरेक दिनको बैठकमा प्रगति भइरहेको उनले उल्लेख गरे । सकभर आज बेलुकाकै बैठकमा समाधानमा पुग्ने प्रयास रहने उनको भनाइ छ ।