काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद चर्किँदै गर्दा उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने कि नदिने विवादबीच आइतबार अपरान्ह उनले राजीनामाको घोषणा गरेका हुन्। २०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भन्दै राजीनामा दिएका हुन्।
'म यो अनैतिक राजनीतिको खेलबाट अलग हुन म राजीनमा दिदैछुु, सिंहदरबारस्थित संसद सचिवालयमा रावलले संचारकर्मीसँग भने, 'म राजीनामा दर्ता गर्न जाँदैछु।
रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक थिए।
सांसद रावलको राजीनामा पत्र हेर्नुहोस्
सम्माननीय सभामुखज्यू,
प्रतिनिधिसभा, सिंहदरबार काठमाडौं ।
विषय : राजीनामा ।
महोदय,
झण्डै आधा शताब्दी लामो राजनीतिक जीवनमा मैले अनेकौं राजनीतिक आरोह अवरोह तथा घात प्रतिघात व्यहोरेको छु र तिनको सामना गरेको छु । यो सबै मैले मातृभूमि नेपालको स्वाधीनता, स्वतन्त्रता, अखण्डता, स्वाभिमान तथा नेपाली जनताको अधिकार र समृद्धिको लागि गरेको थिएँ ।
राजनीति र त्यसका सबै संयन्त्रहरु राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमान र जनताको सुख समृद्धिमा समर्पित हुने विश्वास गरेको थिएँ । तर राजनीतिक नेतृत्वबाट त्यसविपरितका काम हुँदै देश र जनतालाई अनेकौं पीडा र अनिश्चयको दिशातर्फ धकेल्ने कृत्य हुँदै गए । फलस्वरुप आज नेपाल र नेपालीको शीर निहुरिँदै गएको छ ।
अझ केही समय यता राजनीतिक वृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पद लिप्सा, विधि-पद्धतिलाई आफ्नो कुत्सित एवम् निहित स्वार्थका लागि मिच्दै अत्यन्त स्वेच्छाचारी-निरंकुश किसिमको काम गर्ने अनैतिक चरित्रको घृणित अभ्यास भइरहेको देख्दा कुनै पनि सच्चा देशभक्त र लोकतन्त्रप्रेमी नेपालीको मन रुन्छ । यस्ता विकृत तथा देश र जनताको हित विपरितका क्रियाकलापका विरुद्ध जुझ्दै तिनलाई रोक्नको लागि जनप्रतिनिधि एवम् राजनीतिकर्मीको हैसियतले मैले अधिकतम् प्रयत्न गरेँ ।
तर पछिल्लो समय प्रतिनिधिसभाको विघटनदेखि पुनःस्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश, जनता र पार्टीको हितभन्दा निजी स्वार्थ, अहं, प्रतिशोधी र षड्यन्त्रकारी चरित्र एवम् कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरी सम्झने जुनसुकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुन्छ ।
यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलगत हुनु श्रेयष्कर भएकोले उक्त प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएको छु ।
धन्यवाद ।